काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका आशंकितहरुको सूचीसहितको विस्तृत छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइएको छ । समितिले सोमबार नै प्रतिवेदन बुझाउन तयारी गरेपनि सार्वजनिक बिदा परेकाले बुझाउन पाएको थिएन । मन्त्रालयले भदौ ७ मा सहसचिव हरिप्रसाद मैनालीको संयोजक्तमा गठित छानबिन समितिले घटनाको वस्तुस्थिति, स्थानीयको भनाई, प्रहरी अनुसन्धानमा भेटिएको कैफियत र अनुसन्धानमा आएका आशंकितहरुको विवरणसहितको प्रतिवेदन मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको हो ।
प्रतिवेदन बुझ्दै मन्त्री थापाले प्रतिवेदनको पूर्ण कार्यन्वयन हुने बताए । समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो । समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ ।
भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव स्थानीयले ११ गते गाउँ नजिकैको उखुबारीमा फेला पारेका थिए ।
घटना भएको दुई महिना पुग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । हत्यारा पत्ता लगाउन महेन्द्रनगरमा भएको आन्दोलनमा प्रहरीलको गोली प्रहारबाट १३ वर्षीय बालक सनि खुनाको मत्यु भएको थियो भने कैयौं घाइते छन् ।







