कर नबुझाउने २२ करदाताको जग्गा, धरौटी रोक्का

असार २ । लहान,  लामो समयदेखि कर नबुझाएका २२ करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानुनी कारबाही अघि बढाएको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका मूल्यअभिवृद्धि करतर्फका २२ करदाताको जग्गा, धरौती, बैंक खाता रोक्का गरी कानुनी कारबाही अघि बढाएको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख सन्तबहादुर ढकालले जानकारी दिनुभयो ।

यस्तै गत जेठको पहिलो सातादेखि बजार अनुगमनलाई तीव्र बनाउँदै सो कार्यालयले अनुगमनका क्रममा आयकरतर्फका २६ करदाताबाट रु ३० लाखभन्दा बढी पुरानो बक्यौता रकम असुली गरेको जनाएको छ ।

बजार अनुगमनकै क्रममा मूल्यअभिवृद्धि करतर्फका ५५ करदाताबाट रु तीन करोड राजस्व असुली गरेको कार्यालयका कर अधिकृत प्रेकप्रकाश मण्डलले जानकारी दिनुभयो ।

त्यस्तै लामो समयदेखि कर नबुझाएका सात वटा इँटा उद्योगबाट रु ३० लाख पुरानो अन्तःशुल्क असुली गरेको जानकारी उहाँ दिनुभयो ।

बजार अनुगमनका क्रममा सिरहा, सप्तरी र उदयपुर जिल्लाका प्रमुख सहरहरुमा सञ्चालित पसलमा अनुगमन गरेको र अनुगमनका क्रममा सामान बिक्री गरेर पनि बिल नकाट्ने पसलमाथि समेत पहिलो पटकका लागि रु १० हजारका दरले जरिवाना असुली गरेको कर अधिकृत मण्डलले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु