एसिया कप छनोटमा नेपालको यात्रा समाप्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एसिया कप छनोटको यात्रा समाप्त भएको छ । मलेसियामा जारी एसिया कप छनोटको आफ्नो अन्तिम खेलमा खराब नतिजा नेपालको यात्रा सकिएको हो । अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव ५ ओभरमा ९५ रनमा अलआउट भएको थियो ।

हङकङको कसिलो बलिङमा पहिलो ओभरको दोस्रो बलमा नै नेपालका ओपनर सुवास खकुरेल खाता नै नखोली आउट भए । त्यसपछि क्रिजमा रहेका अनिल शाहलाई सघाउन आएका कप्तान पारस खड्का पनि १४ रनमा आउट भए ।
पारसपछि ब्याटिङमा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले पनि उल्लेखनीय रन जोड्न सकेनन् । २६ बलको सामना गरेका ज्ञानेन्द्र १२ रनमा पभेलियन फर्किंदा ओपनर अनिल शाह १८ रन जोड्दै बाहिरिए । एसिया कप छनोटमा उत्कृष्ट खेलेका युवा खेलाडी दिपेन्द्रसिंह ऐरीले हङकङविरुद्ध दुई रनमात्र बनाउन सके । छैटौं स्थानमा ब्याटिङमा आएका सागर पुन ७ रनमा आउट भए ।

उनले ओमानविरुद्ध अर्धशतकिय पारी खेले पनि अन्य खेलमा त्यो प्रदर्शन फर्काउन सकेनन् । आरीफ शेखले १८ रन बनाउँदा वसन्त रेग्मी १५ रनमा अविजित रहे । सन्दीप लामिछानेले २ रन बनाए । सोमपाल कामीले खाता पनि खोल्न सकेनन् ।

नेपालको इनिङ्स सस्तैमा समेट्न हङकङका इशान खानले ४ विकेट लिँदा मोहम्मद अजिज खान र तानविर अफजलले २—२ विकेट लिए । ९६ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हङकङ ३२ दशमलव ३ ओभरमा लक्ष्य भेट्टाउन सफल भयो । नेपालका सन्दीप लामिछानेले ५ तथा सागर पुन र वसन्त रेग्मीले १ विकेट लिए पनि हार टार्न सकेनन् ।

सम्बन्धित शिर्षकहरु