काठमाडौं । चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका सरकार प्रमुखमध्ये ४ आज स्वदेश फर्किने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज स्वदेश फर्किन लागेका हुन् ।
यस्तै भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक शनिबार र श्रीलंकाली राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार स्वदेश फर्कने छन् । एक भब्य समारोहका बीच बिमस्टेक सम्मेलन राजधानीको होटल सोल्टीमा बिहिबारदेखि सुरु भएकाे हाे । शिखर सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै अाज अपराह्न समापन हुनेछ ।
स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बिम्स्टेकको शिखर सम्मेलन आयोजनाको अवसर पाएको हो । सन् १९९८ देखि नेपाल यसको आमन्त्रित र सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा भएको छैटौँ मन्त्रिस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए । अध्यक्षीय कार्यकाल हरेक दुई वर्ष हुने गर्छ ।








