भिख माग्न माग्नेलाई एक हजार जरिवाना,एक महिना जेल

काठमाडौं । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता भदौ १ गतेदेखि कार्यान्वयनमा आउँदैछ । ऐनमा भएका प्राविधिक त्रुटी र केही प्रावधान संशोधन गरेर भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ ।

वि.सं. १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा लागू भयो । त्यो कानून लागू भएको ५४ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कायएविधि (संहिता) ऐन र मुलुकी देवानी (कायएविधि) संहिता ऐन भदौ १ गतेदेखि लागू हुनेगरी मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै छ ।

भदौ १ गतेदेखि लागू हुन लागेको नयाँ ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ । यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ ।

आउँदो भदौ १ गतेदेखि भने सडकमा बसेर वा घरघरमा डुलेर माग्न नपाउने भएका छन् । कसैले मागेमा उनीहरुले जरिवाना र कैद सजायसमेत ब्यहोर्नुपर्नेछ । मुलुकी अपराध ९संहिता० ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ ।

ऐनको दफा १२६ मा भनिएको छ ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन ।’

सार्वजनिक स्थल भनेर सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारी साधन किटान गरिएको छ । यी स्थानहरुमा भिक्षा मागेमा पटकपिच्छे थप सजाय र मागेको रकम पनि जफत गर्ने कानुनमा व्यवस्था छ ।

एक महिना जेल, एक हजार जरिवाना

पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ ।

भिक्षा माग्नेलाई भन्दा माग्न लगाउनेलाई बढी सजायको व्यवस्था गरिएको छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ ।

तर, साधु सन्तलाई भने भिक्षा माग्न छुट दिइएको छ । ऐनको दफा १२६ को स्पष्टीकरणमा लेखिएको छ ‘कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पर अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यसदफा अन्तर्गतको कसुर मानिने छैन ।

 

सम्बन्धित शिर्षकहरु