उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण नरोकेको संयुक्त राष्ट्रसंघको निष्कर्श

एजेन्सी । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिइरहेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ। तेल तथा हतियार बेच्न प्योङयाङले ठूलो मात्रामा अवैध पानी जहाजहरू प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ। बीबीसीका अनुसार स्वतन्त्र विशेषज्ञको टोलीले उक्त प्रतिवेदन शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषद्मा बुझाएका छन्।

उत्तर कोरियाले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। गत हप्ताको शुक्रबार, क्षेप्यास्त्र परीक्षण बन्द गर्ने सहमतिविपरीत उत्तरले ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरिरहेको आशंका अमेरिकी अधिकारीहरूले गरेका थिए।

एक अधिकारीले अमेरिकी पत्रिका वासिङटन पोस्टसँग अमेरिकी स्याटेलाइटले उत्तर कोरियाको सूक्ष्म निगरानी गर्दा उनीहरू क्षेप्यास्त्र विकास गर्न लागेको पुष्टि भएको बताएका थिए। यसअघि गत जुन महिनामा उत्तर कोरियाली नेता किम जङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा ऐतिहासिक वार्ता भएको थियो। दुवैबीच परमाणु हतियारलाई निशस्त्रीकरण गर्ने सहमति भएको थियो।

तर निशस्त्रीकरणको खाका कस्तो भन्नेबारे खुलाइएको थिएन। यतिबेला अमेरिकाले उत्तर कोरियाले सहमति भंग गरेको आरोप लगाइरहेको छ। अमेरिका उत्तरप्रति रुष्ट बनेको छ। उत्तर कोरियाविरुद्ध अमेरिका, संयुक्त राष्ट्रसंघ लगायत युरोपियन युनियनले क्षेप्यास्त्र परिक्षण गरेको प्रतिक्रियास्वरूप नाकाबन्दी गरेको छ।

के भन्छ राष्ट्रसंघको प्रतिवेदनले?
उक्त प्रतिवेदन संयुक्त राष्ट्रसंघले उत्तरविरुद्ध लगाएको प्रतिबन्धलाई नजिकबाट हेरिरहेका विज्ञहरूले तयार पारेका हुन्। प्रतिवेदनमा भनिएको छ- राष्ट्रसंघ सुरक्षा परिषद्को नियमलाई अटेर गर्दै उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

उसले २०१८ मा अवैध रूपमा पेट्रोलियम पदार्थ तथा कोइला विदेश पठाउन ठूलो मात्रामा जहाजहरू प्रयोग गरेको देखिएको छ। प्रतिवेदनमा प्योङयाङले साना हतियारसँगै युद्धमा प्रयोग हुने अन्य सामाग्रीहरू मध्यस्थकर्ताको सहयोगमा यमन र सुडान पठाएको उल्लेख छ। विज्ञहरूका अनुसार उत्तरमाथि लगाइएको आर्थिक प्रतिबन्ध यस्ता गतिविधिले प्रभावकारी हुन सकेको छैन।

सम्बन्धित शिर्षकहरु