
अस्ट्रेलिया । नेपालमा पहिलो पटक अस्ट्रेलियन सरकारको सहभागितामा दुई दिने स्कील माइग्रेसन सेमिनार हुने भएको छ । माइग्रेसन, इनोभसन नर्दन टेरोटेरी (मिन्ट) नामाकरण गरिएको दुई दिने कार्यशाला गोष्ठी आगामी मार्च ९ र १० तारिख अर्थात फागुन २५ र २६ गते काठमाडौमा हुनेछ।
अस्ट्रेलियाको नर्दन टेरोटेरी राज्य सरकारको प्रत्यक्ष सहभागिता र केबीए ग्लोबलको आयोजनामा हुन लागेको यो दुई दिने गोष्ठीमा नेपालमा रहेको दक्ष जनशक्तीलाई अस्ट्रेलियामा रोजगारी र स्थायीत्वको अवसर प्रदान गर्ने विषयमा केन्द्रित रहनेछ। नेपालमा आयोजना हुने दुई दिने गोष्ठी सञ्चालनका लागि नर्दन टेरोटेरी राज्यका स्कील माइग्रेशन विभागका सहायक निर्देशक रिचार्ड फो र डार्बिन इनोभेसन हबका निर्देशक हार्ली पलोक नेपाल जाने भएका छन्। सम्भवतः निजी क्षेत्रबाट यस्ता खाले थुप्रै सेमिनार गोष्ठीको आयोजना भए पनि सरकारी तबरमा नेपालमा हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।








