कात्तिक ७ । भक्तपुर, प्रधानमन्त्री सुशील कोइरालाले जनताको चाहनाअनुसार नै संविधान जारी हुने भएकोले माघ ८ गतेभित्र संविधान जारी गर्न कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ ।
नेपाली काँग्रेस भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माण प्रक्रियामा कसैको डरधम्कीबाट अवरोध गर्न नसक्ने बताउनुभएको हो ।
आन्दोलन, द्वन्द्व, धम्कीले लोकतान्त्रिक उपलब्धि गुम्नसक्ने बताउँदै प्रधानमन्त्री काइरालाले भन्नुभयो, “संविधान आउँछ आउँछ, तपार्इंहरु ढुक्क हुनुहोस्, कसैको आन्दोलनको धम्कीले अब संविधान रोकिँदैन ।”
संविधान भित्र र बाहिर पनि विभिन्न तहमा सहमति गर्ने प्रयास भइरहेपनि सहमतिदेखि भागेर आन्दोलनको धम्की आइरहेको बताउँदै उहाँले आन्दोलनदेखि डराएर बसे अहिलेसम्म हासिल भएका लोकतान्त्रिक उपलब्धिहरु गुम्ने बताउनुभयो ।
संविधानसभाको एउटा भवन बनाउन नसकेर दिनको रु एक लाख भाडा तिर्नुपरेको बताउँदै उहाँले एमाओवादीले मागेको १४ प्रदेशलाई देशले धान्नै नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानका विषयमा सहमतिको धेरै प्रयास भएको बताउँदै उहाँले प्रमुख प्रतिपक्षी एनेकपा माओवादीले सहमति पनि नगर्ने, प्रक्रियामा पनि जान नदिएर संविधान निर्माणमा अवरोध पुर्याउन खाजेको आरोप लगाउनुुभयो ।
एमाओवादीले सहमति पनि नगर्ने र संविधान बन्न पनि नदिएर मुलुकलाई बन्दी बनाउन खोजेको बताउँदै उहाँले अब यसलाई नेपाली जनताले सहन सक्दैनन् भन्नुभयो ।
नेपाली काँग्रेसका महामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले समयसीमाभित्रै संविधान जारी हुने बताउनुभयो । उहाँले अब संविधान निर्माणमै सबैको ध्यान जाने बताउनुभयो ।
नेपाली काँग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधरको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुरका ओरेन्टल सहकारीमा करोडौ रकम डुबाउने पीडित भक्तपुरका बासिन्दाले ओरेन्टलबाट पैसा फिर्ता गराइदिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।








