उपसभामुखबाट तुम्बाहाङफेको राजीनामा ‘राजसंस्थाभन्दा बलियो पित्तृसंस्था रहेछ’

काठमाडौं । उपसभामुख पदबाट राजीनामा दिएपछि डा. शिवमाया तुम्बाहाङ्फेले संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेकी छन् ।
उनले राजसंस्थाभन्दा बलियो पितृसंस्था रहेको बताइन्। आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी उनले गरिन् ।

‘मैले बाजी मारें। म सभामुख हुन्छु÷हुन्न दोस्रो पाटो थियो। तर मैले यो संस्थालाई सफल बनाएँ’, उनले भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ, परिवर्तन गर्न अझै धेरै मेहनत गर्नुपर्ने रहेछ। हामी सबै मिलेर राजसंस्था त फाल्यौं। राजसंस्थाभन्दा पितृसंस्था बलियो रहेछ।’

संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवार टुंगो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको उनले बताइन् ।

आफू दलको नभई संसद्को उपसभामुख भएकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण उनले दिइन्। ‘संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ’, उनले भनिन् ।

उपसभामुखबाट राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको उनको भनाइ थियो । उनले आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानूनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गरिन् ।

असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उनले स्पष्ट पारिन् । ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ’, उनले भनिन् ।

संसद् सचिवालयकी कर्मचारीले यौन दुर्व्यवहार आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा गरेका थिए । असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ । आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षकहरु