एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना विजयी भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रियल सोसिडाडले सुरुवाति अग्रता लिएर भ्रमण टोली बार्सिलोनालाई दबाबमा पारेको थियो । ११ औँ मिनेटमा विलियम जोसे डा सिल्भाको गोलबाट सोसिडाडले सुरुवाति अग्रता लियो । त्यसपछि पनि उनले गोल गरेका थिए तर फउल भएका कारण रेफ्रीले मान्यता दिएनन् ।
३४ औँ मिनेटमा आनमीले गोल गर्दै सोसिडाडको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि पाउलिन्होले बार्सिलोनाका लागि पहिलो गोल गरे । पहिलो हाफमा २–१ ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्यो । लुइस स्वारेजले ५० औँ मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ७१ औैँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता लियो । ८५ औँ मिनेटमा लियोनल मेस्सीले एक गोल थपेपछि बार्सिलोना ४–२ ले विजयी भयो ।








