काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको भित्री सहरमा चार पाङ्ग्रे सवारीसाधन निषेध गर्ने भएको छ । महानगरपालिकाले कोर एरियामा सवारीको अत्यधिक चाप र भीडभाडसँगै सम्पदा क्षेत्र अस्तव्यस्त भएकाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चार पाङग्रे सवारीसाधन चलाउन निषेध गर्न लागेको हो। उपत्यकाको भित्री शहरमा रहेका धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रमा माघ २ गतेबाट सवारी आवगमनमा रोक लगाइने भएको छ ।
काठमाडौं महानगरपालिका र महानगरिय ट्राफिक प्रहरी महाशाखाले वडा नम्बर १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री सहरमा सवारी आवमगनको रुट व्यवस्थापन गर्ने भएको छ । अब इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटु लगायतका स्थानमा चार पाङग्रे सवारी गुडाउन निषेध गरिएको छ। त्यस्तै गरी भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन रोक लगाइएको छ।
नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी मात्रै सवारीचालन चलाउन पाइनेछ । त्यस्तै गरी टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोकसम्म जान मात्रै सकिनेछ। एम्बुलेन्स, शव वाहन, खानेपानी, दुध बोकेका सवारी साधन, बिरामी तथा अशक्त बोेकेका सवारी साधनलाई जुनसुकै समयमा गुड्न दिइनेछ । यस्तै पास लिएर चलाएका निजी सवारीसाधनलाई समेत आपतकालीन समयमा गुड्न दिइनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि ठमेल र पशुपति क्षेत्रमा सवारीसाधन निषेध गरिसकेको छ ।

पर्यटकीय क्षेत्रले आफ्नो मौलीक पहिचानलाई जीवन्त राख्न उक्त क्षेत्रमा माघ २ गतेबाट बिहान सातदेखि बेलुका सात बजेसम्म भएका कारण चार पाङग्रे सवारी साधारलाई केही स्थानमा पूर्ण निषेध, केही क्षेत्रमा एकतर्फी मात्र सवारी चलाउने व्यवस्था गर्न लागेको महाशाखाले जनाएको छ । पर्यटकीय क्षेत्र समेत भएको उक्त वडाहरुमा टेलिफोन, विद्युत, ढल, सडकको निर्माण आवश्यक रहेको समेत जनाएको छ ।







