काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक सोमबार पनि बस्दैछ । आइतबार बसेको सचिवालयको बैठकमा केही विषयमा छलफल भएको थियो, सोमबार छलफलले निरन्तरता पाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । पार्टीमा आन्तरिक विवाद चुलिँदै गएका बेला लगातार स्थगित भएको सचिवालय बैठकमा सबै विषयमा बिस्तारमा छलफल गर्न दुई दिने बैठक बसेको हो ।
प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिकरूपमा व्यक्त गरेको असन्तुष्टि, उपनिर्वाचन, मन्त्रीहरूको कार्यक्षमता लगायतका विषयमा विवाद साम्य नहुँदा सचिवालय बैठक पटकपटक सर्दै आएको थियो ।
बैठकमा प्रदेश कमिटिको पूर्णता, जिल्ला कमिटिको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूचि तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफलको कार्यसूचि छ । यी सबै विषयमा सोमबारको बैठकमा छलफल हुनेछ ।
पार्टीलाई अझ बढी सुदृढ एकताका आधारमा साङ्गठनिक एकतालाई हरहालतमा टुङ्गो लगाई एकताबद्ध पार्टी र नेतृत्वका आधारमा सरकारलाई सफल बनाउन आवश्यक सबै निर्णय गर्ने बारेमा खुला र गम्भीर छलफल भइरहेको बताइएको छ ।








