भदौ ९ ,काठमाण्डौं। इस्लामिक स्टेट्स (आइएस) ले सिरियाको रक्का प्रान्तमा गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सुले जनाए अनुसार रक्का प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्रहरु पुनःजिहादीहरुले कब्जामा लिएका छन् ।
यसै महिनाको सुरुमा नै सरकारी सैनिक र सरकारसँग आवद्ध लडाकू मदान शहरको बाहिरी इलाकामा पुगेका थिए । रक्का प्रान्तको पूर्वीतर्फ पर्ने यो सहर आइएसको बलियो प्रभाव रहेको थियो ।
आइएस आतंककारी समूहले मदान शहरको पश्चिममा पर्ने बाहिरी इलाकाको ३० किलोमिटर परसम्म सुरक्षा बललाई लखेटेका थिए ।
रसियाको समर्थनमा आइएस आतंककारी विरुद्ध कारबाही चलाउँदै आएका सिरियाली सुरक्षाबलले प्रान्तीय राजधानी रक्का सहरमा भने छुट्टै लडाई जारी राखेका छन् ।
गत जुनमा सो शहरमा प्रवेश गरेका एसडिएफले जिहादीविरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि रक्का शहर ६० प्रतिशत कब्जामा लिइसकेका थिए । सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो । सोही आन्दोलन कारक हुँदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।








