भदौ २७ ।काठमाडौँ,नेकपा–माओवादीसहित विभिन्न राजनीतिक दलहरुले सरकारले भारतसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता (पिटिए)को आज सम्झौताका प्रति जलाएका छन् ।
पिटिए सम्झौताको विरोधमा आन्दोलनरत उनीहरुले आज बिहान १० देखि १२ बजेसम्म सिंहदरबारको दक्षिण ढोका नजिकै धर्ना दिँदै सम्झौताका प्रति जलाएका हुन् ।
धर्ना कार्यक्रममा आन्दोलनरत विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दै पिटिए सम्झौता राष्ट्रहित विपरीत भएको भन्दै सो सम्झौता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिनु भयो ।
उनीहरुले विश्वकै सबैभन्दा सस्तो विद्युत् आयोजना माथिल्लो कर्णाली आयोजना नेपाल सरकारले आफैँ बनाउनुपर्नेमा जोड दिँदै भारतलाई सो आयोजना बनाउन दिन नहुने बताएका थिए ।
माओवादीका प्रवक्ता पम्फा भुसालले विभिन्न ४७ दलको सर्वदलीय बैठकको भदौ २१ गतेको निर्णयअनुरुप आज सिंहदरबार अगाडि धर्ना दिइएको बताउनुभयो ।
पिटिए तयारीको विरोधमा रहेका दलहरुले आज काठमाडौँमा सिंहदरबार अगाडि र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने र पिटिएको पत्र जलाउने कार्यक्रम तय गरेका थिए ।








