भारतमाथि श्रीलंकाको सानदार जित

जेठ२६ । श्रीलंकाले आइसिसी च्याम्पियन्स ट्रफीको साबिक विजेता भारतमाथि सात विकेटको सानदार जित हासिल गरेको छ ।
ओभल क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह बीको खेलमा भारतले पहिलो ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा ३ सय २१ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा श्रीलंकाले ४८।४ ओभरमै ३ विकेट गुमाएर ३ सय २२ रन जोड्यो । श्रीलंकाको जितसँगै समूह बीको अंकतालिका रोमाञ्चक बनेको छ ।

समूह बीमा भारत, दक्षिण अफ्रिका, श्रीलंका र पाकिस्तानले दुई खेलबाट समान दुई अंक जोडेका छन् । यस समूहबाट चारै टोलीले सेमिफाइनल स्थान बनाउन सक्छन् । समूह चरणका अन्तिम खेलमा जित निकाल्ने टोलीहरू अन्तिम चारमा पुग्नेछन् । श्रीलंकाले लक्ष्य पछ्याउँदा पाँचै ब्याट्सम्यानले उत्कृष्ट योगदान दिए । सुरुवाती खराब गरे पनि गुनथिलाका र कुसल मेन्डिसबीच दोस्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी हुनु नै श्रीलंकाको जितको आधार बन्यो ।

गुनथिलाकाले ७२ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७६ रन तथा मेन्डिसले ९३ बलमा ११ चौका र १ छक्काको सहयोगमा ८९ रन बटुले । त्यसपछि रिटायर्ड हट भएका कुसल परेराले ४४ बलमा ४७ रन तथा एन्जेलो म्याथ्युजले ४५ बलमा ५२ रन बनाए । गुणरत्नले २१ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३४ रन बनाएका थिए । भारतको इनिङमा शिखर धवनले १ सय २५ रनको शतकीय योगदान दिएका थिए । उनले १ सय २८ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।

सम्बन्धित शिर्षकहरु