भदौ १६ ।पर्सा, वीरगन्जस्थित नेपाल-भारत सीमामा स्थापित इबोला भाइरस स्क्रिनिङ हेल्थ डेस्कले एक शंकास्पद नेपालीलाई आफ्नो उच्च निगरानीमा राखेको छ ।
अफ्रिकी मुलुक कंगोमा शान्ति सेनामा आफ्नो ६ महिने सेवा अवधि सक्याएर फर्केको बताउने उहाले सेनामा त्यस्तो लक्षण देखिएकाले उहालाई उच्च निगरानीमा राखिएको हो ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण केन्द्रले ती व्यक्ति २२ दिनअघि नै मुलुक फर्केको र हाल स्वस्थ रहेको जनाउदै इवोला भाइरसको ओथार अवधि २१ दिन भएकाले उनमा संक्रमणको सम्भावना शुन्य रहेको जनाएको छ।
‘कंगोमा हिजो मात्र इवोलाको एउटा केश फेला परेको हो,’इपिडिमियोलजीका निर्देशक डा. बाबुराम मरासिनिले भने, ‘ती व्यक्तिमा शुरुदेखी नै ज्वरो देखिएको छैन, ओथार अवधिसमेत पार गरि सकेका छन्, शंकाको आधारमा निगरानीमा राखिए पनि इवोला संक्रमणको सम्भावना शुन्य देखिएको छ ।’
विरगंज डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सेराज खानका अनुसार भदौ ८ गते नेपाल प्रवेश गरेका उनको स्वास्थ्य परीक्षण गर्दा इबोला संक्रमित रोगीसंग मिल्दोजुल्दो धेरै लक्षण देखिएकाले उनलाई उच्च निगरानीमा राखिएको हो ।
खानले तत्काल जिल्ला जनस्वास्थ्य कार्यालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे हामीले सूचित गराएको जानकारी दिनु भयो ।
बारा, सिमरा स्थाई घर भएका उनको सेनामा पद र परिचय भने गोप्य राखिएको छ ।
खानले ज्वरो र डावर आउने बाहेक आँखा रातो हुने,टाउको र पेट दुख्ने,खान मन नलाग्ने,पखाला लाग्ने जस्ता सबै लक्षण देखिएपछि आफुहरु यस प्रति गम्भिर बनेको बताउनु भयो ।








