काठमाडौँ, संविधान निर्माणको हतारोमा महिला सभासदहरुले संविधानसभा भवन परिसरलाई तीजमय बनाएका छन्। मंगलबार दर खाने दिन पनि महिला सभासदले विदा पाएनन्। त्यसो त उनीहरु बुधबार तीजको दिन पनि संविधानसभा मै अनिवार्य हुनुपर्नेछ ।
घर, माईत, मावल वा तीजका जमघटमा साथीसँगीमाझ सहभागी हुने रहर पुरा नभएपछि संबिधान सभा परिसरमै महिला सभासदले तीज मनाउने संयोग निकाले । मंगलबार जारी संविधानसभाको परिमार्जित विधेयमाथिको मतदान एक घण्टाको लागि स्थगित भएको मौकामा महिला सभासद तीज गीत गाउँदै छमछम नाचे। विद्या भण्डारीले नाचगानको नेतृत्व गरिन्। संविधान सभाको खाजा खाने समय महिला सभासदका लागि उत्सव जस्तै बन्यो।
बिहानदेखि बेलुकासम्म संविधान सभामा खटिएका सभासदलाई फुर्सदमा तीज मनाउन पुरुष सभासदले पनि साथ दिएका छन्। झुरुम्म भेला भएर पुरुष सभासदहरु दर्शक बन्छन्, महिलाहरु छमछम नाच्छन्। संविधान सभा हल भित्रको झन्जटिलो र लम्बेतान मतदान प्रकृयाबाट मुड फ्रेस गर्ने बहाना भएको छ तीजको रमझम। असोज तीन गते संविधान जारी हुनेभएपछि संविधान निर्माण प्रकृयामा रहेका दलका महिला सभासदमा उत्साह छ। त्यो उत्साह उनीहरुले तीजका गीतमा उतार्ने गरेका छन्।








