काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भनेकै भरमा सरकार नछाड्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लव नेपालको साक्षात्कारमा बोल्दै सरकाकार प्रवक्ता समेत रहेका राईले सरकार परिवर्तनको लागि प्रक्रियाबाट गएर अविश्वासको प्रस्ताव राख्न सुझाव दिए ।
उनले अहिलेको सत्तारुढ गठबन्धन सत्ताको लागि मात्रै नभई संविधान कार्यान्वयनका लागि बनेको जिकिर गरे । उनले सहमतीय सरकार बन्ने भए एमालेकै नेतृत्वमा बन्नु पर्ने तर्क गर्दै एमालेलाई बाहिर राखेर सहमतीय सरकार हुनै नसक्ने बताए ।
मन्त्री राईले भने, “राष्ट्रिय सहमतिको ढोका खुल्ला छ । सहमतिबाट काँग्रेस आफँै बाहिरिएको हो । अहिले मुलुकको लागि प्रतिपक्षी आवश्यक पनि छैन । सहमतिको सरकार बन्ने भए एमालेसहितको सरकार बन्छ । एमालेलाई अलग गरेर सहमतिको सरकार बन्न सक्दैन र त्यस्तो सरकारले राष्ट्रिय समस्याको समाधान पनि गर्न सक्दैन ।”
उनले बर्तमान सरकारले नै स्थानीय निकायको निर्वाचन गराउने दाबी गर्दै मंसिरमा निर्वाचन गराउने कुरा नयाँ र संविधान बाहिर नभएको स्पष्ट पारे ।
मन्त्री राईले भने, “मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कुरा नयाँ र संविधान बाहिरको विषय होईन । संविधानको धारा ३०३ मा स्थानीय निकायको पुर्नर्संरचना नहुन्जेलसम्मको लागि निर्वाचन गर्ने भन्ने कुरा स्पष्ट छ ।”
उनले सरकारको नीति तथा कार्यक्रम राम्रो र जनतामा आशा जगाउने खालको भएको भन्दै राम्रो लाग्दा लाग्दै पनि विपक्षी भएपछि आलोचना गर्नु पर्ने संस्कारको कारण बाध्यताबस् आलोचना गरिएको तर्क गरे ।
मन्त्री राईले नयाँ संविधानको स्प्रिटमा, सत्तारुढ गठबन्धनमा छलफल गरेर नीति तथा कार्यक्रम ल्याएको भन्दै क्याविनेटबाट सर्वसम्मतीबाट पारित हुनु यसको पुष्टि भएको बताए ।








