काठमाडौं, १५ वैशाख–निर्मलकुमार रिमालका ६५०० वटा हाइकुहरुको संग्रह ‘बृहत हाइकु’को बिहिबार राजधानीमा विमोचन भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका आयोजनामा भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा.गंगाप्रसाद उप्रेतीले पुस्तक विमोचन गर्दै साहित्यले समाजलाई जोड्दै समृद्ध बनाउने बताए । सो कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले हाइकुकार रिमालले निकै मिहिनेत गरेर हाइकु संग्रह प्रकाशित गरेको बताए । सो संग्रहका बारेमा डा. खगेन्द्र लुइँटेलले टिप्पणी गरेका थिए ।
यसैगरी प्राज्ञ अमर गिरी, अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल विमोचित कृतिका स्रष्टा निर्मलकुमार रिमाल, अनेसासका केन्द्रीय सदस्य एव नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडी, अनेसास सदस्य पुष्प खनाल लगायतले रिमालको कृतिका बारेमा धारणा राखेको थिए । सोही कार्यक्रममा गायिका सुष्मा कार्की र कमला रिसाल बि. के. ले गीत प्रस्तुत गरेका थिए ।






