काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता बार्सिलोना पराजित भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोना मालागासँग २ – ० ले पराजित भएको हो ।
बार्सिलोनालाई पराजित गर्ने क्रममा मालागाका सान्ड्रो रामिरेज र झोनीले एक एक गोल गरे । र, मालागासँग पराजित भएसँगै बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । जसको फाइदा रियल लाई पुगेको छ ।
घरेलु मैदानमा भएको खेलमा मालागाले खेलको ३२ औं मिनेटमा रामिरेजको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १ – ० ले पछि रहेको बार्सिलोना खेलको ६५ औ मिनेटमा १० खेलाडीमा समेटियो । बार्सिलोनाका स्टार नेयमारले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको हो ।
अब नेयमारले रियल मड्रिड सँगको इएल क्लासिको भिडन्त गुमाउने छन् । नेयमार बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिदा मालागाले घरेलु मैदानमा फाइदा उठायो । खेलको ९० औ मिनेटमा झोनीले गोल गर्दै मालागालाई २ – ० को जित दिलाए ।
मालागासँगको हारपछि बार्सिलोनाको ३१ खेलबाट ६९ अंक छ । शिर्ष स्थानको रियल मड्रिडको ७२ अंक छ । रियलले एक खेल कम खेलेको छ । मालागा ३३ अंक सहित १४ औ स्थानमा छ ।








