काठमाडौं । नेपालमा महिला यौनकर्मीको संख्या विगत ६ वर्षको अन्तरालमा दोब्बरले वृद्धि भएको सरकारी अध्ययनले देखाएको छ। गत भदौदेखि मंसिरसम्म तीन महिनाको अवधिमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र विभिन्न दातृ निकायहरूले संयुक्त रूपमा गरेको अध्ययनले सन् २०१० को अनुपातमा नेपालमा महिला यौनकर्मीको संख्यामा दोब्बरले वृद्धि भएको देखाएको हो। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार महिला यौनकर्मीहरूको संख्या ५४ हजार एक सय ९७ जना रहेको छ। यो सन् २०१० को अनुपातमा २७ हजार एक सय ९७ जनाले बढी हो।
कोठे अध्ययनको तथ्यांक भएको आरोप
तर, विभिन्न संघ–संस्थाले सरकारको यस्तो तथ्यांकलाई आधिकारिक मान्न नसकिने बताएका छन् । लामो समयदेखि एचआइभी(एड्स तथा यौनरोगसँग सम्बन्धित ती संस्थाहरूले सरकारले गलत तथ्यांक प्रस्तुत गरेको आरोप लगाए । लागुऔषध प्रयोगकर्ता तथा संघ–संस्थाहरूको महासंघका अध्यक्ष विष्णु फुयाँल शर्माले सरकारले कोठाभित्र बसेर अध्ययन गरेको दाबी गरे।
‘सरकारले यस्तो अपूरो तथ्यांक दिनु भनेको लाजमर्दो विषय हो । केही तथ्यांकको अवस्था हेर्दा वास्तविकताको नजिक पुगेजस्तो देखिए पनि समग्रमा हेर्दा कोठाभित्र बसेर बनाएजस्तो छ । यसले यौनकर्मीहरूको अवस्थामा ठूलो दरार ल्याउनेछ,’ उनले भने । शर्माले अन्तिम अवस्थामा दातालाई लोभ्याउन तयारी विनातथ्यांक सार्वजनिक गरेको पनि बताए । दातृ निकायले आर्थिक कार्यक्रम पठाउने समय नजिकिएसँगै हतार हतारमा अध्ययन गरेकाले गलत तथ्यांक आएको सहभागी संघ–संस्थाका प्रतिनिधिको भनाइ छ ।
तथ्यांकमै अलमल
सरकारले सार्वजनिक गरेको सन् २०१६ को तथ्यांकमा महिला यौनकर्मीको संख्या न्यूनतम ४३ हजार आठ सय २९ देखि अधिकतम ५४ हजार एक सय ९७ रहेको छ । सन् २०१० मा सरकारले नै सार्वजनिक गरेको तथ्यांकमा महिला यौनकर्मीहरूको संख्या २७ हजार थियो । तेस्रोलिंगी, पुरुष यौनकर्मी, समलिंगी पुरुष र पुरुषसँग यौन कार्यमा संलग्न हुने अन्य पुरुषहरूको संख्या जम्मा एक लाख ११ हजार आठ सय ५२ जना रहेको देखिएको छ । ‘सुईद्वारा लागुपदार्थ लिने व्यक्तिहरूको अनुमानित संख्या ३४ हजार ३ सय ७५ रहेको तथ्यांकले देखाएको छ ।
सन् २०१० मा लागुपदार्थ लिने व्यक्तिहरूको संख्या ५४ हजार थियो,’ शर्माले भने । उनले सार्वजनिक सरकारी तथ्यांक कुनै कोणबाट सत्यतथ्य नभएको बताए । हाल एड्स रोगी उपचारमा कति छन् भनेर सरकारले कुनै तथ्यांक दिन नसक्नु ठूलो कमजोरी भएको स्पष्ट पारे । सरकारले ४४ जिल्लाको अध्ययन गरी तथ्यांक सार्वजनिक गरेको हो । बाँकी ३१ जिल्लाको अवस्थाबारे प्रक्षेपणका आधारमा संख्या राखिएको छ ।
कमजोरी भयो? पौडेल
६ वर्षको अवधिमा महिला यौनकर्मीको संख्यामा दोब्बरले वृद्धि हुनु आश्चर्यको विषय भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा। तरुण पौडेलले बताए । तथ्यांकमा धेरै भिन्नता आएकाले पुनः अध्ययन गरिने उनले जानकारी दिए । ‘हामी यसलाई थप छलफल र अध्ययन गर्नेछौँ,’ पौडेलले भने, ‘यो तथ्यांकमा केही कमी देखिएको छ, यसलाई सुधार गर्नेछौँ ।’ यौनकर्मीहरूको संख्या वृद्धि हुँदै जाँदा एचआइभी(एड्स लाग्ने सम्भावना पनि त्यतिकै हुने उनको भनाइ छ ।
गलत तथ्यांक आएको भनेर सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रममा आवाज उठाएपछि पौडेलले केही तथ्यांक तलमाथि परेको र केही अध्ययनमै कमजोरी भएको स्वीकार गरे। आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। राजेन्द्र पन्तले अध्ययनबाट आएको तथ्यांकको आधारमा नयाँ कार्यक्रम बनाउने बताए।







