रोजर फेडेररले जिते पाँचौ पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधी

काठमाडौं । स्विस टेनिस खेलाडी रोजर फेडेररले बर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा स्पेनिस राफायल नाडाललाई पराजित गर्दै फेडेररले अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन् ।
मेलबर्न पार्कको कोर्टमा भएको फाइनलमा १७ औँ बरियताका फेडेररले नवौं बरियताका नाडाललाई ६ – ४, ३ – ६, ६ – १, ३ – ६ र ६ – ३ ले पराजित गर्दै उपाधि जिते । यो सँगै फेडेररले आफ्नो करियरको १८ औँ ग्राण्डस्लाम टेनिसको उपाधि जित्न सफल भयो । चोटबाट मुक्त हुदै कोर्टमा फर्किएका फेडेररको यो पाँचौ अष्ट्रेलियन ओपनको उपाधि हो ।
३५ वर्षीय फेडेरर सन् २०१० पछि पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा पुग्दै उपाधि जितेका हुन् । पछिल्लोपटक फेडेररले सन् २०१० अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए । अष्ट्रेलियन ओपनको सेमिफाइनलमा रोजरले आफ्नै देशका स्टान वारिन्कालाई पराजित गर्दै फाइनल पुगेका थिए । सेमिफाइनलमा नाडालले बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई पराजित गर्दै फाइनल पुगेका थिए ।
महिला तर्फको उपाधि अमेरिकन सेरना विलियम्सले जितेकी छिन् । शनिबार भएको फाइनलमा सेरेनाले आफ्नै दिदि भेनसलाई पराजित गर्दै कीर्तिमानी २३ औँ पटक ग्राण्डस्लाम टेनिसको उपाधि जितेकी हुन् ।

सम्बन्धित शिर्षकहरु