काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले आजदेखि लागू हुने गरी राजीनामा दिएका छन् ।
प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र पठाएर राजीनामा दिइएको उपाध्यक्ष डा खतिवडाले बताए। “प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा उनलाई भेट्न सकिएन, त्यसकारण पत्र पठाएर राजीनामा दिएको छु । नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने मनशायका साथ मैले मार्गप्रशस्त गरेको हुँ । अरु सदस्यले के गर्नुभयो, मलाई थाहा भएन”, डा खतिवडाले भने।
नौ महिनाको आफ्नो कार्यकालमा १४औैँ योजनाको आधारपत्र तयार पारिएको र सो आधारपत्र संविधान कार्यान्वयनमा नै केन्द्रित रहने उल्लेख गर्दै उनले सुरुआतका समयमा भारतको अघोषित नाकाबन्दीले पारेको प्रभाव कम गर्न केन्द्रित रहेको बताए।
यस्तै दीर्घकालीन विकासको आधार तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरिएको तथा सन् २०३० सम्मको विद्युत्को मागको प्रक्षेपण एवम् आयोगको आन्तरिक सुधारका काममा विशेष ध्यान दिइएको जानकारी दिँदै उनले भने, “सन् २०३० सम्मको विकासको मार्गचित्र तयार भएको छ । त्यसले हाम्रो विकास कतातर्फ परिलक्षित हुन्छ भन्ने निर्धारण गर्दछ ।”
यस्तै राष्ट्रिय गौरवका आयोजना एवम् ठूला पूर्वाधारको काम अगाडि बढाउन तथा सार्वजनिक, निजी र सहकारीबीचको साझेदारी एवम् त्यसको आधारपत्र निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले आगामी दिनमा आउने उपाध्यक्षलाई काम गर्न सहज हुने उहाँको भनाइ छ । यस्तै सुरक्षा मुद्रण प्रणाली स्थापना गर्ने काम पनि अगाडि बढेकाले त्यसले मुलुकलाई फाइदा गर्ने डा खतिवडाको भनाइ छ ।
बजेट आउँदा समेत योजना नआउने प्रवृत्तिलाई हटाएर पहिला योजना र त्यसपछि बजेट आउने सुल्टो अवधारणालाई संस्थागत गरी क्षमता अभिवृद्धि एवम् विकास प्रक्रियाको मोटो खाका समेत बनाइएको उनले उल्लेख गर्नुभयो । आयोगमा नेकपा माओवादी केन्द्रका तर्फबाट नियुक्त सदस्यबाहेक अन्य सदस्यले पनि राजीनामा दिएका छन् ।








