काठमाडौं । केही दिन अघिदेखिको बर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बाढी पहिरोमा परि मंगलबार मध्याह्नसम्म दशको मृत्यु भइसकेको छ भने हजारौँ घर डुवानमा परेका छन् । मौसमविद्का अनुसार मौसम बुधबार बिहानसम्म सक्रिय रहने छ भने मध्य तथा पूर्वी पहाडी क्षेत्रमा बर्षा अझै केही दिन लम्बिन सक्छ । हेरौँ देशभर कहाँ के भयो ?
सुनसरीमा सत्र सय घर डुबानमा, एकको मृत्यु
अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् ।
गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा अहिले बिहान ८ बजेको समयमा दुई लाख ४३ हजार ७७४ क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव कोसी ब्यारेजमा मापन भएको बताएका छन् । अहिले ब्यारेजका ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएका छन् । बिहान कोसी नदीमा बाढी घटेपनि अहिले पुनः बाढीको बहाव बढ्ने क्रममा रहेको पनि उनले बताए ।
एकको मृत्यु – एक बेपत्ता
यसैबीच, सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानमा सोमबार भएका घटनामा परी एक जनाको ज्यान गएको छ । अर्का एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्व झापा जाँदै गरेको बा ५६ प ६६६४ नम्बरको मोटरसाइकललाई झापाबाट काठमाडौँतिर जाँदै गरेको मे १ ख २०४० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि यात्रारत गुल्मी घर भई बानेश्वरमा बस्दै आएका २० वर्षीय हिमाल खत्रीको घटनास्थलमा नै मृत्यु भएको छ ।
मोटरसाइकल चालक झापाका २१ वर्षीय निशान खरेलको जिल्ला अस्पताल इनरुवामा उपचारपछि घर गएको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।
यता सुनसरीको बराहक्षेत्र–१ मा स्थानीय दूधखोलामा आएको बाढीले बगाई सप्तकोसी नदीमा पु¥याएकाले इटहरी उपमहानगरपालिका–१ आइतबारे निवासी १७ वर्षीया सुशीला कार्की बेपत्ता भएकी छिन् । उनको खोजी भइरहेको छ । उनीसँगै बगेका भोजपुर जिल्लाको मानेभञ्ज्याङ–५ निवासी ज्ञानेन्द्र पराजुलीको भने स्थानीयवासी र प्रहरीले जीवितै उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
पोखरामा तीन दर्जनभन्दा बढी घर डुबायो
सोमबार साँझदेखि परेको भीषण वर्षासँगै आएको बाढीले कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाउनुका साथै तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।
म्याग्दी घर भई हेम्जामा बस्दै आएकी ४० वर्षीया मोतीकला छन्त्याललाई सोमबार साँझ सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
सेती नदीमा आएको भीषण बाढी पोखराको रामघाटमा थुनिँदा सुकुम्बासी बस्तीका छ घर डुबानमा परेका छन् । प्रहरीले रातिनै उनीहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।
रामघाटबाटै बगाएर ल्याएका छ वटा बङ्गुर पनि निकालिएको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताए ।
यस्तै, पोखराको कस्केरीमा रहेका २० वटा सुकुम्बासीका घर पनि डुबानमा परेका छन् । त्यस्तै, कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा व्यक्तिगत घर र एउटा सामुदायिक क्लिनिक समेत बगाएको छ । सो ठाउँका वलसिंह भुजेल र आसबहादुर भुजेलको घर बगाएपछि उनीहरु नजीकको दूध पोखरी माध्यमिक विद्यालयमा बसेका छन् । यसरी नै पोखराको छोरेपाटनमा दुई घर डुबानमा पर्नुका साथै १२ घरमा पानी पसेको बताइएको छ ।
पहिरोबाट पुरिँदा तीन जनाको मृत्यु
पाल्पाको गोठादी गाविस–५ दमारमा पहिराले घर पुरिँदा राति निदाइरहेका एकै घरका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तामबहादुर कनौजे तथा उनका श्रीमती र छोरी रहेको प्रहरीको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माथा प्रहरी चौकीको नेतृत्वमा घटनास्थलमा प्रहरी खटिएका छन् ।
लगातारको वर्षाले जिल्लाका अधिकांश भेगमा पहिरो गएको छ । पानी नरोकिएपछि उद्धारमा समेत समस्या देखिएको छ । जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिराले घर पुरिँदा यसअघि अस्मिता विकको मृत्यु भएको थियो ।
तिनाउले पुल बगायो
रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ । देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन् ।
तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान छ ।
पुल बगाउँदा उपमहानगरपालिकासँग तिनाउपारिका बस्ती जोड्ने प्रमुख माध्यम अवरुद्ध भएको छ । यसबाट बुटवल आवतजावत गर्न बुटवलका मोतीपुर, सेमलार, फर्साटिकरलगायत क्षेत्रका जनता प्रभावित हुने भएका छन् ।
बाढीले नदी किनारको जमिन कटान गर्न थालेपछि सो क्षेत्रका बस्तीमा त्रास उत्पन्न भएको छ । बस्तीका सर्वसाधारण नदी कटान हुने डरले घरबाट सरसामान निकालेर अन्यत्र सरेका छन् ।
यसअघि सोमबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउमा आएको बाढीले आज बिहान नदी किनारमा रहेका अव्यवस्थित बस्ती उपमहानगरपालिका–७ का प्रगतिनगरमा १० घर र वडा नं १३ को मजुवामा पाँच घर बगाएको थियो ।खतरामा रहेका बस्तीलाई अन्यत्र लैजान स्थानीयवासी र प्रहरी खटेकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताए । नदी किनारमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका करिब ५०० बढी घर जोखिममा परेका छन् । दुर्गानगर, न्यु दुर्गानगर, सीमानगर, खयरघारी लगायत २०० बढी घरमा पानी पसेको छ ।
कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजार डुब्यो
पवर्त । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबेको छ ।
राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए ।
अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरु रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् ।
डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् ।कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । स्थानीय प्रहरी चौकीका प्रमुख न्यौपानेका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । राति नै स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएपछि उनीहरु बस्तीभन्दा माथिको भिरमा गएर रात काट्न बाध्य भएका थिए ।
मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ ।
छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिला सङ्कटमा परेको बताइएको छ । अहिलेसम्म पर्वततर्फको भागमा रहेको बजारमा भने क्षति नपुगेको बताइएको छ ।
पोखरा–बागलुङ, बेनी–मालढुङ्गा सडक अवरुद्ध
सोमबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेका छन् ।
कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे सडकमाथिको भिरबाट लेदो माटो खसेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रु बीच बाटामै रोकिएका छन् । अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहे पनि वर्षा भइरहेकाले समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै पर्वतको नाङ्लीवाङ गाविस–९ फर्सेमा सडकमाथिबाट आएको पहिराका कारण मालढुङ्गा–बेनी सडक राति १२ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक खुलाउन पहल गरिए पनि वर्षा नरोकिएकाले पहिरो निरन्तर बग्दा समस्या देखिएको छ । सुरक्षाकर्मी र सडक डिभिजन कार्यालय मार्फत सडक खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा हिमालपारिको मुस्ताङ र म्याग्दीबाट छुटेका सवारी साधन र यात्रु अलपत्र परेका छन् ।
अनुसन्धानका कार्यालय भत्कियो
अविरल वर्षाले सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको भवन भत्किएको छ । कार्यालय प्रमुख विष्णु पण्डितको कार्यकक्षमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यालय भत्किँदा झन्डै रु चार लाख बराबरको क्षति भएको छ । कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर, फ्याक्स मेसिन, टेलिफोन, टेबुल र सोफासेट लगायत सामानमा पूर्ण रुपमा क्षति पुगेको कार्यालय प्रमुख पण्डितले जानकारी दिए ।
उक्त कार्यालय तत्कालका लागि मर्मत गर्न पहल भइरहेको प्रहरीले जनाएको छ । पुरानो भवन भएकाले जमिन भासिनेबित्तिकै गाह्रो भत्किएको जनाइएको छ ।
मंगलबार पनि दिनभरि पानी पर्ने, सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौं । देशको मध्य र पश्चिमी क्षेत्रमा गए रातिदेखिनै मौसम सक्रिय रहेकाले मंगलबार पनि दिनभरि भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशको मध्य तथा पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
पोखरामा २ सय २३ मिलिमिटर, सुर्खेतमा २ सय ३ मिलिमिटर, काठमाडौंमा ८७ मिलिमिटर र सिमरामा ९७ मिलिमिटर वर्षा भएको छ । मौसम मंगलबार दिनभर सक्रिय रहने र बुधबार बिहानपखदेखि सुधार आउने महाशाखाको पूर्वानुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । “महाशाखाको पूर्वानुमानअनुसार मंगलबार दिनभर मध्य, पश्चिमी र सुदूरपश्चिमी क्षेत्रमा भारी वर्षा हुन्छ,” उनले भने,“बुधबार बिहानमात्रै मौसममा सुधार देखिन सक्छ । तर, यसको अर्थ आकाश खुलेर घाम नै लागिहाल्छ होइन । पानी पर्ने मौसम भएकाले बेलुकाबाट पुनः भारी वर्षा सुरु हुनसक्छ ।”
आकाशमा चट्याङ पर्ने बादल पनि देखिएकाले जंगलमा घाँस–दाउरा गर्न जाँदा सावधानी अपनाउन पौडेलले आग्रह गरेका छन् । त्यस्तै, पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको र नदी तटीय क्षेत्रका बासिन्दाले पनि सावधानी अपनाउनुपर्ने उनले बताए ।
अविरल वर्षाका कारण गुल्मीमा पहिरो, पाँचको मृत्यु
गुल्मीम अविरल वर्षाका कारण गुल्मीमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । मंगलबार बिहान हस्तीचौर गाविस–१ माल्दीका भीमबहादुर दर्जीको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४९ वर्षीया तुलसी दर्जी, बुहारी १९ वर्षीया अस्मिता दर्जी र दिदी ६५ वर्षीया कालिका दर्जीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । उनले बाह्रखरीसँग भने, “पहिरोले गोठ पुरिन लाग्यो भनेर वस्तुभाउ बचाउन पुरुषहरू बाहिर निस्किएछन् । त्यही बेला पहिरो गएर भित्र भएका महिलाहरू पुरेछ । हामीले घटनस्थलमा सुरक्षाकर्मी पठाइसकेका छौँ ।” करिब पाँच सय मिटर माथिबाट खसेको पहिरोले घर पुरेको प्रजिअको भनाइ छ ।
यसैगरी गुल्मीकै विशुखर्क–९ मा रहेको गोपाल राणाको घर पहिरोले पुरिँदा उनका एक छोरा र एक छोरीको मृत्यु भएको छ । पहिरोमा पुरिएर राणाका ८ वर्षीय छोरा सुजन राणा र ६ वर्षीया छोरी सीमाना राणाको मृत्यु भएको रानाले जानकारी दिए । दुई दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागहरू जलमग्न भएका छन् भने केही ठाउँमा पहिरोसमेत गएको छ । “नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा रहन भनेका छौँ । स्थानीय खोलाहरू बढेकाले खोला तर्न र जोखिमयुक्त क्षेत्रमा नजान हामीले अनुरोध गरिरहेका छौँ । उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा छन्,” प्रजिअ रानाले भने ।
घर पुरिँदा दुई जनाको मृत्यु
प्युठानको लुङ गाविस–६ मा घर पुरिँदा मंगलरबा दुई जनाको मृत्यु भएको छ ।
स्थानीय वसन्ता केसीको घर पहिरोले भत्काउँदा सिलाइ कटाइ व्यवसाय सञ्चालन गर्दै आएकी काली परियारको मृत्यु भएको हो । यस्तै सोही वडाकै ध्वजबहादुर पुनको घर पहिरोले पुरिँदा डेरा गरी वस्दै आएको १५ वर्षीय किरण थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए ।
सप्तरी डुवानको चपेटामा
सप्तरी । केही दिनदेखि परेको वर्षाका कारण सप्तरी जलमग्न हुन पुगेको छ । बाढीबाट करिब चार हजार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । बाढीबाट बिसहरिया, रमपुरा, मलनिया, गोबरगाडालगायत गाविस जलमग्न भएको प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले जानकारी दिए ।
“हामीले सोमबार बेलुका जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसी उद्धार र राहतको काम अघि बढाएका छौँ । उद्धारका लागि नेपाली सेना र प्रहरीको टोलीलाई तयारी हालतमा राखेका छौँ,” उनले भने ।
गौतमका अनुसार बाढी प्रभावित क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । विशेष गरेर जिल्लाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ । “स्थानीय खोलाको निकास कोसीमा मिसिनुपर्ने थियो । तर, कोसीको जल सतह बढ्न जाँदा घरहरू डुबानमा परेका हुन्,” उनले भने ।
बाढीबाट हालसम्म मानवीय क्षति नभए पनि एक जनालाई खोलाले बगाएको सुनिएको तर त्यसको पुष्टि हुन नसकेको प्रजिअ गौतमले बताए । सेना र प्रहरीले ‘ट्युब बोट’बाट पीडितको उद्धार गरिरहेको छ ।


![Dff]/ªsf] x;Gbxdf aqmfxf vf]nf afFw km'6]/ hndUg ag]sf] Dff]/ªsf] x;Gbx ufpF . vf]nf ufpFdf k;]k5L @ ;o %) a9L kl/jf/ la:yflkt ePsf 5g . tl:a/ ;'dg l3ld/], pnf{af/L -df]/ª_, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/07/1469461260189_morang-bakraha-300x132.jpg)






