बर्लीन । इंगोस्टाडलाई पराजित गर्दै वायर्न म्युनिखले लगातार चौंथो पटक जर्मन लिग बुन्डेस लिगाको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इंगोस्टाडलाई २–१ ले पराजित गर्दै वायर्नले लिगको एक खेल अघि नै उपाधि आफ्नो पक्षमा पारेको हो ।
वायर्नलाई लगातार चौथो पटक उपाधि दिलाउने क्रममा दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । वायर्नको यो २५ औं बुन्डेस लिगाको उपाधि समेत हो । यस्तै लगातार चौंथो पटक बुन्डेसलिगाको उपाधि जित्ने वायर्न पहिलो टिम बन्यो । उपाधि जितेको वायर्न म्युनिखको एक खेल बाँकी हुँदा ८५ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको ७७ अंक छ ।
इंगोस्टाडको घरेलु मैदानमा भएको खेलमा वायर्नले खेलको १५ औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३२ औं मिनेटमा लेवानडोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ४२ औं मिनेटमा हार्टमान्नले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै इंगोस्टाडका लागि एक गोल फर्काए । त्यसअघि लेवान्डोस्कीले ह्याट्रिक अवसर गुमाए । किपरलाई बिट गर्दै लगेको बललाई लेवान्डोस्कीले डिफेन्सलाई बिट गर्न नसक्दा ह्याट्रिक पुरा गर्न असफल बने ।
यस्तै बुन्डेस लिगाको अन्तर्गत नै शनिबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड एन्ट्रयाक्ट फ्र्यांकफर्टसँग १–० ले पराजित भयो । जसको स्पट फाइदा वायर्नलाई पुगेको थियो । र, बोरुसियाको उपाधि होड समाप्त भयो ।








