माघ ८ । मोरङ, कोसी अञ्चल अस्पतालमा बिरामीको चाप बढेपछि भुइँमै राखेर उपचार गर्नुपरेको छ ।
पूर्वाञ्चलकै सबैभन्दा ठूलो सरकारी अस्पतालका रुपमा स्थापित कोसी अञ्चल अस्पतालमा जाडो बढेसँगै चिसोका कारण निमोनिया, चिसोबाट हुने पखाला र दमका बिरामी बढी आउन थालेपछि अस्पतालको आकस्मिक कक्षमा श्ययाको अभावमा भुइँमै राखेर उपचार गर्न बाध्य भएको आकस्मिक कक्षका प्रमुख रघुनन्दन अधिकारीले बताए ।
आकस्मिक कक्षका प्रमुख रघुनन्दन अधिकारीका अनुसार अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढेका कारण अहिले भुइँमा राखेरसमेत उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । २० श्यया क्षमता रहेको अस्पतालकोे आकस्मिक कक्षमा दैनिक ७० भन्दा बढी बिरामी भर्ना हुने गरेका र बहिरङ्ग सेवा ९ओपिडी०मा समेत क्षमताभन्दा बढी बिरामी भर्ना हुने गरेको छन् ।
बहिरङ्ग सेवामा हाल दैनिक एक हजारभन्दा बढी बिरामीको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । श्यया खाली नहुँदा चिसो भुइँमै उपचार गराउनुपरेको दुहबीबाट छोरीको उपचार गराउन आउनुभएकी मुना पोखरेलको भनाइ छ ।
बिरामीको चाप र श्यया अभावका कारण सेवाग्राहीले सास्ती बेहोर्नुपरेको उहाँको गुनासो छ । गत वर्षको माघ महिनामा दैनिक १५ देखि २० को हाराहारीमा निमोनिया र चिसोबाट हुने पखालाका बिरामी आउने गरेका थिए । चिसो बढेका कारण अधिकांश ज्वरोका बिरामीमा निमोनिया र चिसोबाट हुने पखाला देखिएको छ ।
निमोनियाका बिरामीमध्ये धेरैजसो बालबालिका छन् । विशेष गरेर नवजात शिशुहरु निमोनियाको चिसोबाट हुने पखालाबाट सङ्क्रमित भेटिएको कोसी अञ्चल अस्पतालका बालरोग विशेषज्ञ डा विमल अग्रवालले बताउनुभयो । निजी क्लिनिक र नर्सिङ होमहरुमा भन्दा सरकारी अस्पतालमा कम खर्चमा उपचार हुने भएकाले कोसी अञ्चल अस्पतालमा बिरामीको चाप बढ्ने गरेको हो ।
बयालीस श्यया क्षमता रहेको बच्चा विभागमा अहिले कुनै श्यया खाली छैनन् । अस्पतालको बहिरङ्ग विभागमा मात्रै यतिखेर दैनिक १५० को हाराहारीमा बालबालिका उपचारका लागि ल्याउने गरिएको छ ।








