प्रधानमन्त्री ओलीको यस्तो भनाई

nagarik-kp-oliकाठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमालेले सरकारको नेतृत्व गरेका बेला केही राम्रा काम गर्न नसकिए जनतामा भयानक निराशा उत्पन्न हुने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, “यो सरकार असफल भएमा नेपालको भविष्य डरलाग्दो अवस्थामा जानेछ, जनतामा भयानक निराशा छाउनेछ ।”

भूकम्पपछिको अवस्था, नाकाबन्दी र तराईमा आन्दोलनका बाबजुद सरकारले मुलुकको प्रगति र समृद्धिका लागि केही प्रयास भइरहेको उहाँले जानकारी दिए ।

लोकतान्त्रिक नीति र सामाजिक न्यायपूर्ण विचारका हिसाबले अहिले मुलुकको निर्णायक शक्तिका रुपमा एमाले रहेकाले जनताका बीचमा त्यही भावनाका साथ एकीकृत भएर काम गर्न सांसद्हरुलाई निर्देशन दिँदै पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले देशलाई दूरगामी असर पर्ने र देशको एकता खण्डित हुने कुनै कुरामा जान नसकिने स्पष्ट गरे।

उनले नेपाली सेना व्यावसायिक संस्था भएकाले यसको लोकतान्त्रीकरणको विषय उठाउनु सान्दर्भिक नभएको पनि बताए ।

बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई हिमाल, पहाड र तराई राष्ट्रका नाममा विभाजित गर्ने षड्यन्त्र भएको भन्दै चालू राजनीतिक वार्ताका क्रममा त्यसप्रति सचेत रहन सुझाव दिए ।

अर्का नेता माधवकुमार नेपालले संविधान संशोधनमा नेपाली काँग्रेसले संसद्मा पेस गरेको संशोधनले नयाँ बखेडा उत्पन्न हुन सक्ने औँल्याउँदै त्यसबारे आजै बस्ने तीन दलको शीर्ष बैठकमा छलफल हुनुपर्ने बताए ।

बैठकमा तराई मधेसमा आन्दोलनरत दलसँग भएका पछिल्ला वार्ता र छलफलका विषयबारे उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले जानकारी गराएका थिए ।

विधान संशोधन कार्यदल

बैठकले संविधानसभा रहेका बेला बनाइएको पार्टी संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा सचेतक गोकुल घर्ती, सांसद्हरु डा वंशीधर मिश्र, शिवकुमारी गोतामे र अनारकली मियाँ रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलले यही १० गतेभित्र दलका नेता ओलीलाई प्रस्ताव  दिनुपर्नेछ । यस्तै पार्टीको संसदीय बोर्ड गठनको नामावली तयार गर्न प्रमुख सचेतक र सचेतकलाई जिम्मा दिइएको छ ।

सम्बन्धित शिर्षकहरु