काठमाडौँ, युवा तथा खेलकुद मन्त्रालयले एएफसी उन्नाइस वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई आज सम्मान गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मन्त्रालयले बिहीबार एक कार्यक्रम गरी २३ जना खेलाडीसहित मुख्य प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक सुनिल श्रेष्ठ, गोलकिपरका प्रशिक्षक निरग्रेन्द्र मिश्र, फिजियो राजु दाहाल र टोली व्यवस्थापक दिवाकर घलेलाई सम्मान गरेको हो ।
सम्मानित खेलाडी एवम् प्रशिक्षकलाई खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष एवम् सभासद् गणेश थापा र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सम्मान गरेका थिए । सम्मानित हुनेले जनही रु एक लाख पाएका छन् ।
खेलकुदमन्त्री पौडेलले फुटबलमा पाएको सफलताले नेपालको प्रतिष्ठा बढेको बताए ।
उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाली युवा टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै उपाधि चुमेको थियो । यही भदौ ३ देखि १२ गतेसम्म काठमाडौँमा सञ्चालन भएको उक्त प्रतियोगिताबाट नेपालले २२ वर्षपछि फुटबल खेलमा उपाधिको खडेरीलाई तोडेको थियो ।








