मञ्चमा बसेका प्रचण्डमाथि आक्रमण

Prachanda-mathe-dhunga1साउन ४ । सिरहा । सोमबार संविधानको मस्यौदामा सुझाव लिन सिरहा पुगेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मधेसवादी र मोहन वैद्य माओवादीका कार्यकर्ताले मञ्चमै ढुंगामुढा गरेका छन् ।

भारत भ्रमणबाट फर्के लगत्तै संविधानको मस्यौदामा सुझाव लिनका लागि क्षेत्र नं ५ को मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका प्रचण्डलाई मधेसवादी र वैद्य माओवादीका कार्यकर्ताले कालो झन्डा देखाउने क्रममा झडप हुँदा ढुंगामुढा प्रहार भएको हो ।

प्रहरीसँगको झडपमा केही उच्छिङखल व्यक्तिले प्रचण्ड बसेको मंचमा ढुंगामुढा प्रहार गरेपछि शसस्त्र प्रहरीले प्रचण्डलाई घेरा दिएर बचाएको  छ ।

मोहन उच्च माविमा रहेको सुझाव संकलन केन्द्रमा प्रचण्ड पुग्ने बित्तिकै मधेसवादी दल, वैद्य र मातृका यादव लगायत माओवादीका कार्यकर्ताले चर्को  नाराबाजी सुरु गरेका थिए ।

नाराबाजीले प्रदर्शन र झडपको रुपम लिएको हो । स्थिति तनावपूर्ण भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास हानेको छ । झडपका बीच सुरक्षाकर्मीको घेरामा राय सुझाव संकलन कार्यक्रम भएको छ । कार्यक्रम बिथोल्न पुगेकालाई प्रहरीले उक्त बजार क्षेत्रबाट नै लखेटेपछि मात्र कार्यक्रम सुरु भएको थियो ।

सुझाव संकलनका क्रममा आयोजित  सिरहाका ६ वटै निर्वाचन क्षेत्रमा झडप भएको छ ।  प्रचण्ड सुझाव लिन पुगेको सिरहा क्षेत्र नं ५ को मोहन उच्च माविमा रहेका बाक्लो सुरक्षा व्यवस्थाका बीच कार्यक्रम भएको छ ।

मधेसवादी र माओवादीका कार्यकर्ताले विभिन्न ठाउँमा संविधानको मस्यौदा च्यातेका छन् ।

सम्बन्धित शिर्षकहरु