उत्साहजनक रुपमा पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जारी

Bhutanese Minister for Finance Addresses ICNRअसार १० । काठमाडौँ,भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ उत्साहजनक रुपमा जारी छ ।

प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार बिहान उद्घाटन गरेको उक्त सम्मेलनमा छिमेकी मुलुकलगायत विभिन्न मुलुकका मन्त्री तथा दातृ निकायका उच्चप्रतिनिधिले नेपालको पुनःनिर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट भएको अकल्पनीय क्षतिपछिको पुनःनिर्माण एवम् पुनःस्थापनाको यात्रामा नेपाल लम्किएको बताउँदै त्यसमा सक्दो सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे।

प्रधानमन्त्री कोइरालाले पुनःनिर्माणका लागि प्राप्त हुने सहयोग पारदर्शी रुपमा परिचालन गर्न जनाताप्रति जवाफदेही संयन्त्र निर्माण हुने बताउँदै त्यस्तो सहयोग परिचालनका क्रममा कुनै भ्रष्टाचार भएमा सरकारले शून्य सहनशीलता अपनाउने विश्वास दिलाए।

नेपाल सहस्राब्दी लक्ष्य पूरा गर्ने सही बाटोमा लम्किरहेका बेला विनाशकारी भूकम्पबाट त्यस यात्रामा नकारात्मक असर पार्न सक्ने आशङ्का व्यक्त गर्दै चालु वर्षको वार्षिक आर्थिक वृद्धिदर गत आठ वर्षयताकै न्यून हुनसक्ने अनुमान गरिएको बताए ।

राष्ट्रिय पुनःनिर्माण र विकासका एजेण्डामा प्राथमिकताका साथ स्पष्ट नीति र कार्यनीति तयार गरी प्राप्त स्रोतको सही सदुपयोग गर्नुमा जोड दिँदै प्रधानमन्त्री कोइरालाले भने– अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग परिणाम विहीन हुन दिइने छैन ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले महाविपत्तिमा परेको नेपाललाई कुल रु. दुई खर्ब बराबरको सहुलियतपूर्ण ऋण र अनुदान सहायता प्रदान गरिने घोषणा गरेभने चिनिया विदेश मन्त्री वाङ यीले रु एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिए ।

उद्घाटन सत्रमा नर्वेका विदेश मन्त्री बर्ग ब्रेन्डे, श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजे, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अब्दुल, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्य, एसियाली विकास बैँकका अध्यक्ष ताकिहिको नोकी, युरोपेली सङ्घका विकास आयुक्त नेविन मिमिका, विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष एलेन डिक्सनलगायतले सम्बोधन गर्दै नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, उद्घाटन सत्रमा राष्ट्रसङ्घका महासचिव बान की मुन र विश्व बैँकका प्रमुख जिम योङ किमले सम्मेलनको सफलताका लागि दिएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।

सम्मेलनको दोस्रो सत्रलाई अर्थमन्त्री डा महतले अध्यक्षता गरिरहेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेल विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए
) प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागिताका निम्ति २३ बहुपक्षीय, ४० द्विपक्षीय, ‘एजेन्सी’ र व्यक्तिगत गरी २५० भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता छ ।

बिहीबारै सम्पन्न हुने सो सम्मेलनमा भूकम्पपछिको पुनःनिर्माण तथा नवनिर्माणका लागि नेपालका साथै विभिन्न मुलुक र निकायका प्रतिनिधिले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा पूर्व प्रधानमन्त्री, सभामुख, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, प्रमुख दलका शीर्ष नेता, संसदीय समितिका सभापति, मुख्यसचिव, सरकारी उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विभिन्न क्षेत्रका विज्ञको सहभागिता थियो । सम्मेलनको समाचार सम्प्रेषणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिको पनि बाक्लो उपस्थिति छ ।

सम्बन्धित शिर्षकहरु