अछाममा भीषण पहिरो: १४ जनाको मृत्यु, ६ बेपत्ता,कैलालीमा बाढी, सयौं परिवार प्रभावित

काठमाडौं । अछाममा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको ज्यान गएको छ भने थप ६ जना बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवम् डिएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका -६ वीरपथमा गएकाे पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको हो ।

स्थानीय बासिन्दाका ४ घर पुरिँदा उनीहरूको ज्यान गएको र पहिरोमा पुरिएर ज्यान गुमाउने मध्येका चार जनाको शव निकालिएको डिएसपी डाँगीले जानकारी दिए । उक्त पहिरोमा पुरिएर थप तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ ।

पहिराेमा पुरिएका मध्ये कमलवजार नगरपालिका-६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका ८ जनाको शव फेला परेको छ ।

उता तुर्माखाँद गाउँपालिका – ५ नाडास्थित काँडाचौरमासमेत पहिरोमा परी ज्यान गुमाउने मध्येका ४ जनाको शव निकालिएको छ भने थप ५ जना पहिरोमै पुरिएका छन् ।

नेपाली कांग्रेस तुर्माखाँद गाउँ कार्यसमिति सचिव प्रताप शाहीले घटनास्थलबाट दिएको जानकारी अनुसार शनिबार बिहान करिब पौन ४ बजे स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिँदा उनीहरूको ज्यान गएको हो ।

स्थानीय बासिन्दाले ४२ वर्षीय नेत्रबहादुर शाही, उनकी ३५ वर्षीया श्रीमती मनिषा शाही, १६ वर्षीया छोरी बिमला शाही र १६ वर्षीया भतिजी जानकी शाहीको शव पहिरोबाट निकालेका छन् ।

बिमला र जानकी स्थानीय कालिकाश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । मीनबहादुर शाहीकी छोरी जानकी बिमलासँग सुत्न आएका बखत पहिरोमा परेकी हुन् ।

उक्त पहिरोमा परेर रितबहादुर शाहीका दुई नातिनी, २ बुहारी र १ छोरा समेत पुरिएका छन् । आफू भने उनी दुई छोरा र श्रीमती सहित कामका लागि भारत पसेका छन् ।

पहिरोमा पुरिएका मध्ये रितबहादुरकी नातिनीद्वय १ वर्षीया मेलिना शाही, ३ वर्षीया करिष्मा, बुहारीद्वय २० वर्षीया कमला शाही, २३ वर्षीया भावना शाही र १२ वर्षीय छोरा सुन्दर शाही रहेका छन् ।

उनीको उद्दारका लागि स्थानीयबासिन्दा सक्रिय भएपनि निरन्तरको वर्षाका कारण उद्दारमा कठिनाइ भइरहेको काँग्रेस सचिव प्रताप शाहीले जानकारी दिएका छन् ।

अछामकै ढकारीमासमेत पहिरोमा पुरिएर एक जनाको ज्यान गएको स्थानियले बताएका छन् ।

अन्य थप विवरण आउने क्रम जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै तीन दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीका विभिन्न ठाउँमा जनधनको क्षति भएको । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ गेटानजिक कल्भर्टबाट २० वर्षीया नवीना चौधरी बगेर बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका वडा नम्बर–४ भुर्वामा केही परिवार डुबानमा फसेका छन् । उनीहरूको उद्धारका लागि सेनासहित संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ ।

सम्बन्धित शिर्षकहरु