काठमाडौं । प्रदर्शनको संघारमा रहेको फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ।
निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्। कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जनाएका छन्।
अहिलेको चलिरहेको अष्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो २७ लाख बराबर हुन आउँछ। कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ।
दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्मले ट्रेलर सार्वजनिकीकरण पछि राम्रो चर्चा पाइरहेको छ। फिल्मको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको भन्दै फिल्मको प्रशंसा भइरहेको छ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्। फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन्।
फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ। फिल्म चैत ४ अर्थात् आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदै छ।








