काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भोलिपल्दै (आज)देखि विक्रेताहरूले पेट्रोलियम पदार्थको खरीद रोकेका छन् ।
मूल्य वृद्धि गरे पनि पेट्रोलियम पदार्थ विक्री गरेवापतको कमिसन वृद्धि नगरेको भन्दै विक्रेताहरुले खरीद बन्द गरेको बताएका छन् । इन्धन विक्रेताहरुले मूल्यवृद्धिको आधारमा ३.१४ प्रतिशत प्रतिलिटर कमिसन पाउने गरेका थिए ।
तर, हिजो भएको मूल्य वृद्धिमा व्यावसायिक कमिसन रोकिएको छ । मूल्यवृद्धि अनुसार व्यवसायीलाई ०.१५ पैसा कमिसन थपिनुपर्नेमा निगमले नथपेपछि विक्रेताहरू खरीद रोकेर आन्दोलित भएका हुन् ।
ढुवानी बन्द भएपछि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना हुने त्रास समेत फैलिएको छ ।
निगमले हिजो रातिदेखि पेट्रोल र डिजेल तथा मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढाएर काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र) मा प्रतिलिटर नयाँ खुद्रा विक्रीमूल्य एक सय ५० र एक सय ३३ रुपैयाँ कायम गरेको छ ।
ग्यास सिलिण्डरमा ६६५ रुपैयाँ ३४ पैसा घाटा भए पनि मूल्य बढाइएको छैन । हवाई इन्धनको मूल्यमा केही समायोजन गरिएको छ ।








