मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग

काठमाडौं । गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनः व्यवस्थापनका निम्ति रु १२ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ।

मेलम्ची–४ थकनी निवासी हाल इटालीमा बसाेबासरत रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल एन्ड टुर्स प्रालि र न्युभिजन नेपालमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो।

बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल एवं मेलम्ची–६ का वडाध्यक्ष जीतराज थापा र न्युभिजन नेपालका अध्यक्ष अशोक शर्माको आतिथ्यतामा विद्यालयमा आयोजित विशेष कार्यक्रमबीच बिहीबार सहयोग हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व सामाजिक विकासमन्त्री दुलालले बाढीपश्चात् तत्काल संरक्षणका लागि विद्यालयले गरेको प्रयासको प्रशंसा गर्दै बाढीग्रस्त क्षेत्रको पुनः निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी ठोस रूपमा गराउन आफू निरन्तर लागिपरेको बताए।

विद्यालयका पूर्वप्रधानाध्यापक वडाध्यक्ष थापाले सहयोगीप्रति धन्यावाद दिएका थिए भने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुङ्गानाले विद्यालयको संरक्षण र पुनः व्यवस्थापनमा सहयोगको उच्च प्रशंसा गर्दै सहयोगलाई उचित सदुपयोग गर्दै पारदर्शी र मितव्ययी ढङ्गबाट परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित शिर्षकहरु