एजेन्सी । एउटा चर्चित बघेनी जसको संसारमा सबैभन्दा धेरै तस्वीर खिचिएको थियो । जीवनकालमा २९ वटा डमरु जन्माएर ‘सुपर मम’को परिचय बनाएको थियो । १७ वर्षको उमेरमा सो बघेनीको प्राकृतिक कारणले मृत्यु हुँदा संरक्षणकर्मी र निकुञ्ज कर्मचारीले भावपूर्ण बिदाइ गरेका छन् ।
भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भमा रहेको सो चर्चित बघेनी शनिबार मृत्यु भएको हो । ‘कलरवाली’ नाम दिइएको त्यो बघेनी शुक्रबारसम्म देखिएको र शनिबार मरेको रिजर्भले शनिबार साँझ घोषणा गरेको थियो । कलरवालीको स्थानीय परम्पराअनुसार, मानिसको जस्तै दाहसंस्कार गरिएको थियो । अन्त्येष्टिमा सयाैँ मानिस सहभागी थिए ।
मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले समेत कलरवालीको मृत्युप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिएका छन् । संरक्षणकर्मीहरूले बाघको संख्या बढाउन कलरवालीले दिएको योगदानको प्रशंसा गरेका छन् ।
रिजर्भका अधिकारीहरूले सन् २००८ देखि २०१८ सम्मको एक दशकमा कलरवालीले ८ बेतमा २९ वटा डमरु जन्माएकी थिई ।








