पूर्वी पहाड र पश्चिम तराईमा भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

काठमाडाैँ । आइतबार पूर्वी पहाड र पश्चिम तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै बाढीपहिरोबाट सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आइतबार पूर्वी नेपालको पहाडी क्षेत्र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुने संभावना छ। यी क्षेत्रमा अहिले पानी पर्न सुरु भइसकेकाे उनले बताए।

पूर्वी पहाडी क्षेत्रका पहिरो जोखिम भएका ठाउँ र पश्चिम तराई क्षेत्रका नदीखोला क्षेत्रका बान्दिाले सचेत हुनुपर्ने मौसमविद श्रेष्ठले बताए। शनिबार विज्ञप्ति जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि तीन दिनसम्म लगातार वर्षाको सम्भावना रहेको जनाएको छ। तर मौसमविद् श्रेष्ठले भने तीन दिनसम्म निरन्तर भन्दा पनि यो तीन दिन वर्षाको संभावना रहेकाले त्यस्तो विज्ञप्ति जारी गरेको जानकारी दिए।

महाशाखाको विज्ञप्तिअनुसार आइतबार मुलुकभर बदली भई देशभर वर्षाको सम्भावना छ भने सोमबार पनि मध्यम खालको वर्षा हुने अनुमान छ। निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।

लगातारको वर्षाले देशका नदीहरूमा पानीको बहाव खतराभन्दा माथि रहन सक्ने भएकाले सतर्कता अपनाउन शाखाले आग्रह गरेको हो। शाखाका अनुसार आइतबार कन्काई, कमला, बाग्मती, कोशी, पश्चिम राप्ती, बबईलगायतका नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

यस्तै मध्य भागको चुरे पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ। यसैगरी सोमबार पूर्व र मध्य भागको चुरे पहाडबाट बहने साना नदीमा बाढी आउने सम्भावना छ। पहिरो जान सक्ने स्थानमा सतर्कता अपनाउन पनि अनुरोध गरेको गरिएको छ।

सम्बन्धित शिर्षकहरु