काठमाडौं । मिस इन्डिया हरनाज कौर संधूले मिस यूनिभर्स २०२१ को उपाधि जित्न सफल भएकी छिन् । २१ वर्षीया हरनाजलाई ७० औं मिस यूनिभर्स २०२१ प्रतियोगितामा विजेता घोषित गरिएको छ ।
उक्त प्रतियोगिता इजराइलको इलेटमा भएको थियो । २१ वर्षपछि भारतले एक पटक फेरी मिस यूनिभर्सको ताज हात पार्न सफल भएको छ ।
हरनाज भन्दा पहिला २००० लारा दत्ताले यो उपाधि जितेकी थिइन् । हरनाजले आफ्नो नाम मिस यूनिभर्सको विजेताको रुपमा घोषणा गरिँदा खुशीले रोएकी थिइन् ।
उनलाई मिस यूनिभर्स २०२० मेक्सिकोकी एनड्रिया मेजाले ताज पहिराएकी थिइन् । हरनाज पेराग्वे र साउथ अफ्रीकाका प्रतियोगिहरुलाई हराउँदै मिस यूनिभर्स २०२१ बन्न सफल भएकी हुन् ।
हरनाजले आफु मिस यूनिभर्स जित्न सफल भएपछि ‘चक दे फट्टे इन्डिया’ भनेर खुशी व्यक्त गरेकी थिइन् । प्रतियोगिताको टप थ्रि राउन्डमा हरनाजसंग होस्ट हार्वीले ‘आजको समयका युवतीहरुले दिनहुँको दबावलाई कसरी डिल गर्ने भन्ने बारेमा तपाईं के सल्लाह दिन चाहनु हुन्छ ? भन्ने जिज्ञसा राखेका थिए ।
जसको जवाफमा उनले भने थिइन्–‘आजको समयमा सबैभन्दा बढी दबावको सामना युवाहरुले नै गरेका छन् र त्यो हो आफैंलाई विश्वास गर्नु । तपाईं फरक हुनु हुन्छ भन्ने कुराले नै तपाईंलाई सुन्दर बनाउँछ ।
अरुसंग आफुलाई तुलना गर्न बन्द गर्नुहोस् र संसारमा भइरहेका आवश्यक कुराहरुबा बारेमा कुरा गर्नुहोस् । बाहिर निस्कनुहोस् र स्वयंका लागि आवाज उठाउनुहोस् किनभने तपाईं आफ्नो जिन्दगीको लीडर हो । तपाईं स्वयं आफ्नो आवाज हो । म स्वयंमा विश्वास गर्छु त्यसैले आज म यहाँ उभिएको छु ।’








