दार्चुलाको घटनाको वास्तविकता बाहिर ल्याउन र नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउंदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको काँग्रेसको ठहर छ ।
“घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकारसमक्ष माग गर्दछु”–प्रवक्ता शर्माले भन्नुभयो । आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास काँग्रेसले लिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु