काठमाडौँ । पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोप्ने अभियान अन्तर्गत वनकाली क्षेत्रको उद्यानमा १०० वटा गुर्जोका बिरुवा रोपिएको छ ।
मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोको प्रवद्र्धनमा लाग्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटको नेतृत्वमा शुक्रबार गुर्जोका बिरुवा रोपिएको हो । कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, पूर्व सहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल, अभियानकर्मी राजलवटलगायतले गुर्जो रोपण गर्नुभएको थियो ।
गुर्जो रोपणपछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानसेनापति कटुवालले औषधीय गुणले युक्त गुर्जोजस्ता जडिबुटीको संरक्षणमा राजलवटलगायत अभियानकर्मीले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै यसको प्रचारप्रसारमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । योग शिक्षक जोशीले योग र आयुर्वेदकै माध्यमबाट आरोग्यता प्राप्त गर्न सकिने भएपनि यसतर्फ आकर्षण बढाउन सरोकार भएका निकायको ध्यान जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधीको प्याकेट वितरण गरिनुका साथै तयारी चियासमेत सेवन गराइएको जनाइएको छ । उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाले भने खान नहुने आयुर्वेद चिकित्सकको भनाई छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउनुहुन्छ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाउनुभएको थियो ।

विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आउनुभएको थियो । विसं २०७६ एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गर्नुभएका उहाँले यस वर्ष पनि करिब १० हजार बिरुवा निःशुल्क बाँड्नुभएको छ ।
एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधी बनाउन सकिने राजलवटको विश्वास छ । सामुदायिक वन, उद्यान, धार्मिक स्थललगायत स्थानमा गुर्जोसहित अन्य जडिबुटी रोपेर औषधी बनाउन सके धेरै पैसा तिरेर ‘साइड इफेक्ट’ गर्ने औषधी विदेशबाट आयात गर्नु नपर्ने भन्दै देशव्यापी अभियान चलाइएको राजलवट बताउनुहुन्छ ।
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधीको काम गर्ने वनस्पति त्यही भूमिमा हुन्छ भन्ने वाणीका आधारमा गुर्जोलगायत वनस्पतिलाई प्रवद्र्धन गर्न लागिएको हो । संस्कृत भाषामा अमृता भनिने यस वनस्पतिका बारेमा पुराण लगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको प्रसङ्ग अनुसार समुन्द्र मन्थनका बेला अमृत निस्किएपछि देवता र दानवका बीचमा खोसाखोस भयो ।
खोसाखोस हुने क्रममा अमृत छचल्किएर परेको वनस्पतिलाई नै अमृता भन्न थालिएको हो । अमृत परेकाले नै यसमा औषधीय गुण प्राप्त भएको धार्मिक विश्वास छ । यसलाई हिन्दी भाषामा गिलोय, गुडुचीलगायत नामले पनि चिनिन्छ ।








