काठमाडौँ । महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्नेमा नष्ट गरिएकामा नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
यस्तो व्यवहार निन्दनीय रहेको प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाको सामुहिक चित्र दुई साताअघि काठमाडौँको एक पर्खालमा निर्माण गरेका थिए ।

युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको काँग्रेसले जनाएको छ । अनेकौँ समाचारको भीडमा महानगरलाई यो सामान्य लागेपनि लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउंदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार हुन सक्दैन ।
“काठमाडौँको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?”–विज्ञप्तिमा उल्लेख छ । महानगरका यस्ता गतिविधिले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा बिरोध भइरहेको छ ।








