काठमाडौं, ३ असार । अविरल वर्षासँगैको बाढी र पहिरोले सिन्धुपाल्चोकमा वितण्डा मच्चाएको छ। कयौं मानिस बेपत्ता भएका छन् भने बस्ती, पूर्वाधार संरचना र खेतीयोग्य जमिनमा निकै क्षति पुगेको छ।
लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबानमा परेको छ। केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले बेपत्ता २० जनाको नामावली र अन्य क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
बाढीका कारण मेलम्ची र हेलम्बुका गरी करिब ९०० जना प्रभावित भएकाे विवरण सार्वजनिक गरिएकाे छ । बाढीमा २० जना हराइरहेकाे, ५ जना घाइते भएकाे र १ जनाकाे लास फेला परेकाे बताइएकाे छ । साथै ५ वटा झाेलुंगे पुन, ४ वटा पक्की पुल र ७ वटा माछा फार्ममा क्षति पुगेकाे समेत विवरणमा उल्लेख छ ।
बाढीमा परी हराइरहेको र तीमध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक रहेकाे जनाइएकाे छ ।
बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति रहेका छन् । यसैगरी हेलम्बु– ३ की ५० वर्षीया साइली तामाङ र हेलम्बू– ६ का ५० वर्षीया च्याङा तामाङ तथा ४२ वर्षीया काली तामाङ बेपत्ता छन् ।
यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे पनि बेपत्ता सूचीमा छन् ।







