काठमाडौँ, ३ असार । विगत दुई वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको सङ्ख्या बढ्न थालेको छ ।
जयतु संस्कृतम् संस्थाले हीरक जयन्तीका अवसरमा सातै प्रदेशमा जुम प्रविधिबाट आयोजना गरेको प्रशिक्षणमा सोचेभन्दा बढीको सहभागिता रह्यो । जुम क्षमता अनुसार प्रत्येक प्रदेशमा ५०० सहभागी भए । फेसबुक लाइभबाटसमेत धेरै मानिसले संस्कृत सिक्ने इच्छा देखाए ।
छ प्रदेशमा जुम प्रविधिबाट प्रशिक्षण सम्पन्न गरी जयतु संस्कृतम् दिवसका अवसरमा असार १ गतेदेखि वाग्मती प्रदेशमा अन्तिम प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणका प्रमुख प्रशिक्षक महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य डा गुरुप्रसाद सुवेदी संस्कृत सिक्ने चाहना बढ्दै गएको पाइएको बताउनुहुन्छ ।
जुमबाट संस्कृत सिक्न चाहनेले शिक्षण सिकाइप्रति देखाएको अभिरुचि उत्साहजनक रहेको उहाँले सुनाउनुभयो । गत वर्ष कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछिदेखि नै संस्कृत भाषा सिक्ने र संस्कृतमा लेखिएका ग्रन्थ पढ्न चाहनेको सङ्ख्या बढेको थियो ।
जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल घर घर र गाउँ गाउँमा संस्कृत भाषा लैजाने योजना अनुसार प्रशिक्षण सातै प्रदेशमा शुरु गरिएको बताउनुहुन्छ । हिब्रु भाषा लोप हुन लागेकामा इजरायलीले त्यसको पुनरुत्थान गरेर राष्ट्रिय भाषाका रुपमा स्थापित गरेजस्तै संस्कृतलाई अघि बढाउन लागिएको उहाँले सुनाउनुभयो ।
संस्थागत रुपमा शुरु गरिएका प्रशिक्षणमामात्र होइन संस्कृत भाषा अध्ययन अध्यापन हुने नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका विद्यापीठमा पनि संस्कृत भाषा सिक्न चाहने प्रशिक्षार्थीको सङ्ख्या बढेको छ । वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकाल विद्यापीठको संस्कृत भाषा प्रशिक्षणमा ४०० जनाले प्रशिक्षण लिइरहेको बताउनुहुन्छ ।
संस्कृत बाहेकका विषयमा माध्यमिक तह (दश जोड दुई) उत्तीर्ण गरेकाले छ महिनाको भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि संस्कृचमा स्नातक (शास्त्री) अध्ययन गर्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । वाल्मीकि विद्यापीठको प्रशिक्षणमा पूर्व न्यायधीश, पूर्व सचिवलगायतको रुचि बढ्न थालेको प्राचार्य ढकाल बताउनुहुन्छ ।
प्रौढ र सेवा निवृत्तमा पनि संस्कृत भाषा सिकेर ऐतिहासिक, पौराणिक एवं ज्ञान विज्ञानका ग्रन्थ पढ्ने चाहना बढ्न थालेको छ । विगत दुई वर्षदेखि वाल्मीकि विद्यापीठमा संस्कृत भाषा प्रशिक्षण लिनेको सङ्ख्या बढेको विद्यापीठले जनाएको छ । भाषा प्रशिक्षणपछि प्रौढ उमेरका व्यक्तित्वलेसमेत शास्त्री अध्ययन गर्न थालेका छन् ।
अमेरिका र युरोपका देशमा संस्कृत भाषाप्रति आकर्षण बढ्न थालेपछि नेपालीमा पनि यसप्रतिको रुचि बढ्न थालेको हो । अमेरिकी वैज्ञानिक संस्था नासाले समेत अन्तरिक्षमा सही रुपमा उच्चारण बुझ्न सकिने भाषा संस्कृत भनी प्रमाणित गरेपछि यसप्रति विश्वमै आकर्षण बढ्न थालेको छ । संस्कृतलाई देवभाषाका रुपमा नेपाल, भारतलगायत दक्षिण एशियाका देशमा लिने गरिन्छ ।
विसं २०५८ सम्म कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा संस्कृत पढाइ हुन्थ्यो । सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादी संस्कृतका पुस्तक जलाउने, संस्कृतका शिक्षकमाथि आक्रमण एवं हत्या गर्ने धम्की दिएपछि पठनपाठन रोकिएको थियो । संस्कृत भाषाप्रति विश्वमै आकर्षण बढ्न थालेकाले नेपालमा फेरि अनिवार्य गरिनुपर्ने माग जयतु संस्कृतम्लगायत संस्थाले गर्दै आएका छन् ।








