काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ ।
नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो । नेटवर्कले १४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा सयौं स्थानमा थियो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो । राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ मुलुकमा अध्ययन गरेको थियो ।
कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनका लागि आधार लिइएको थियो। भारत ३.८१९ अंक प्राप्त गरी १ सय ३९ औं र चीन ५.३३९ अंक प्राप्त गरी ८४ औं स्थानमा सूचीकृत भएका छन् ।
श्रीलंका ४.३२५ अंक ल्याएर १ सय २९ औं, पाकिस्तान ४.९३४ अंक प्राप्त गरी १ सय ५औं, बंगलादेश ५.२५ अंक प्राप्त गरी १ सय १ औं, मालदिभ्स ५.१९८ अंक प्राप्त गरी ८९ औं स्थानमा सूचीकृत भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
फिनल्यान्ड संसारकै खुसी मुलुक
फिनल्यान्ड यो वर्ष पनि संसारकै खुसी मुलुकमा परेको छ। ७.८४२ अंक प्राप्त गरी फिनल्यान्ड १ नम्बरमा परेको हो। फिनल्यान्डका नागरिक सबैभन्दा बढी खुसी रहेको प्रतिवेदनले औंल्याएको छ।
गत वर्ष विश्वभर कोभिड भाइरसको महामारीपश्चात् पनि फिनल्यान्डका नागरिक अन्य मुलुकको तुलनामा बढी खुसी रहेको अध्ययनका क्रममा भेटिएको जनाइएको छ। एकआपसप्रति विश्वास तथा सरकारप्रति पूर्ण भरोसाका कारण नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
अन्य खुसी मुुलुकको अग्रस्थानमा डेनमार्क दोस्रो, स्विटजरल्यान्ड तेस्रो, आइसल्यान्ड चौथो, नेदरल्यान्ड पाँचौं, नर्वे छैटौं नम्बरमा छन्। सबैभन्दा दुःखी मुलुकमा सार्क सदस्य राष्ट्र अफगानिस्तान सूचीकृत भएको छ। सबैभन्दा धनी राष्ट्रमध्ये एक अमेरिका भने खुसीयाली राष्ट्रको सूचीमा १९ औं नम्बरमा आउन सफल भएको छ।








