‘नयाँ ब्रोकर कमिशन घटाउने, स्टक डिलरको लाईसेन्स यसै महिना’- अध्यक्ष ढुंगाना

काठमाडौं । पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने भएको छ। बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अबको एक साताभित्रै ब्रोकर कमिसन घटाउने र नयाँ कम्पनीलाई स्टक डिलरको लाइसेन्स दिने बताएका हुन्।

उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिने क्रममा आज धितोपत्र बोर्डमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।

सो अवसरमा पुँजी बजारको विकास र विस्तारमा आर्थिक पत्रकारको महत्त्वपूर्ण भूमिका हुने उनले बताए। पुँजी बजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै ढुंगानाले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरे।

ढुंगानाले भने, “सही सूचना सम्प्रेषण भएमात्र बजारको दिगो विकास हुन्छ। यस अर्थमा पत्रकारको भूमिका ठूलो हुन्छ।”

सो अवसरमा अध्यक्ष ढुंगानाले अंग्रेजी नयाँ वर्ष २०२१ को सुरूआतसँगै ब्रोकर कमिसन घटाएर लैजाने तयारी भएको जानकारी दिए। ब्रोकर कमिसनका विषयमा बोर्डले धेरै अध्ययन र अनुसन्धानपछि मोडालिटी तयार गरिसकेको र अब दरमात्र तय गर्न बाँकी रहेको अध्यक्ष ढुंगानाको भनाइ छ।

हाल लगानीकर्ताले ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ। त्यस्तै, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.५ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ।

यसलाई घटाउने विषयमा धेरै समयदेखि संघर्ष चल्दै आएकाले यसलाई छिटै टुंगो लगाउने अध्यक्ष ढुंगानाले बताए।

त्यस्तै, लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेका नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र लाइसेन्स पाउने भएको छ। बोर्डका अध्यक्ष ढुंगानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताएका हुन्।

सो अवसरमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले मुलुकको अर्थतन्त्रको ऐना भनेको पुँजी बजार भएकाले देशको अर्थतन्त्र सम्झँदा नेपालको पुँजीबजार सम्झिने वातावरण बनाउने सुझाव दिएका थिए।

सम्बन्धित शिर्षकहरु