भग्नावशेष पन्छाउने नाममा अनियमितताका प्रमाण नष्ट !

praman-nasta1सुन्दर शिरीष
असार २७ । काठमाडौँ, सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भग्नावशेष पन्छाउँदा सरकारी कार्यालयका महत्वपूर्ण कागजातसमेत फ्याँकेको पाइएको छ । भूकम्पबाट जिल्लाका धेरैजसो सरकारी कार्यालय क्षतिग्रस्त भएका छन् । जिल्ला विकास समिति, जनस्वास्थ्य, कृषि विकास, कारागार, प्रशासन र मालपोतको पुरानो भवन, भूसंरक्षण र सदरमुकाम बाहिर रहेका कतिपय सरकारी कार्यालयको कागजपत्र भग्नावशेषसँगै फोहरको डंगुरमा फालिएको छ ।

जिविस सञ्चालन हुँदै आएको पुरानो भवन पूर्णरुपमा क्षतिग्रस्त छ । सो भवनको भग्नावशेष हटाउँदा सुरक्षित रहेका महत्वपूर्ण कागजात पनि जानाजान फ्याँकिएको एक कर्मचारीले बताए । जिविसको स्थानीय स्वायत्त शासनको भवन भूकम्पले सामान्य चर्किएको मात्रै थियो । तर, भवन भत्काउँदा सुरक्षित रहेका महत्वपूर्ण कागजपत्र पनि फालेको पाइएको छ । शेरबहादुर ढुंगाना स्थानीय विकास अधिकारी हुँदाका बेरुजुसम्बन्धि कागजपत्र भग्नावशेषसँगै मिल्काइएको छ ।

स्टोरकिपरको लापर्बाहीले जिविसको केही महत्वपूर्ण सामान हराएको कर्मचारीहरुले बताए । आंशिक क्षति पुगेको जिल्ला वन कार्यालयको भवन पन्छाउँदा पनि महत्वपूर्ण सामग्री हराएको छ । जिल्ला प्रशासन र मालपोतको पुरानो भवनमा रहेका रेकर्डका कागजपत्र माटो–ढुंगासँगै फ्याँकिएको छ । कर्मचारी स्रोतका अनुसार जिविस, वन, जिल्ला जनस्वास्थ्य र जिल्ला प्रशासन, मालपोतको पुरानो भवनमा भएको महत्वपूर्ण कागजपत्र धेरैजसो गायब गरिएको छ ।
praman-nasta
सरकारी कार्यालयमा रेकर्ड फेला नपरेपछि दिनहुँ कयौं सेवाग्राही त्यसै फर्कनु परेको छ । भग्नावशेष पन्छाउने जिम्मा लिएका ठेकेदारले सरकारी कार्यालयका काम लाग्ने र क्षति नपुगेका सामान पनि धमाधम ट्रकमा राखेर मिल्काउने गरेका छन् । ‘हाम्रो काम पन्छाउने हो । कर्मचारीले भनेबमोजिम हामीले गरिरहेका छौं ।’ निर्माण ब्यवसायी छत्रबहादुर तामाङले भने । दुई बर्षअघि जिल्ला वन कार्यालयबाट हराएको ४६ केजी सालकको अबैध खबटाको मुद्दाका कागजपत्र पनि भग्नावशेष पन्छाउने नाममा गायब पारिएको छ । कतिपय कर्मचारीका निम्ती भग्नावशेष पन्छाउने काम अनियमितताका प्रमाण मेटाउने अवसर बनेको भन्दै सरकारले तत्कालै जाँचबुझ गर्नुपर्ने स्थानीयको माग छ ।

सम्बन्धित शिर्षकहरु