कोरोनाविरुद्धको खोपलाई हतारमा स्वीकृति दिँदा गम्भीर खतरा निम्तिने डब्लुएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पूर्णरुपमा नसकिँदै प्रयोगका लागि हतारमा स्वीकृति नदिन चेतावनी दिएको छ। स्वीकृति प्रक्रियालाई गम्भीरतापूर्वक लिन पनि डब्लुएचओले आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले यसरी हतारमा स्वीकृति दिँदा गम्भीर खतरा निम्तिन सक्ने बताइन्। उनले पत्रकारहरुसँग भनिन्, “सबै देश परीक्षण पूरा नगरी पनि औषधिको स्वीकृति दिने अधिकार राख्छन्। तर, स्वीकृति दिने प्रक्रियालाई हल्का ढंगमा लिनु हुँदैन।”

यसअघि रुसले कारोनाभाइरस विरुद्धको खोप बनाएको बताएको थियो। तर, उसलाई डब्लुएचओको परीक्षण मापदण्ड पूरा नगरेको आरोप छ। त्यस्तै चीनले पनि तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ मा रहेको खोप उच्च जोखिममा काम गरिरहेकाहरुलाई लगाउन शुरु गरेको जनाएको छ।

डब्लुएचओका अनुसार अहिले विश्वभरि ३३ वटा खोपको ‘क्लिनिकल ट्रायल’ चलिरहेको छ। अन्य १४३ वटा ‘प्रि क्लिनिकल’ परीक्षणमै छन्।

डब्लुएचओले पर्याप्त तयारी बिना बन्दाबन्दी हटाइरहेका देशलाई पनि आवश्यक तयारी पूरा गर्न चेतावनी दिएको छ। जुन देशमा अहिले पनि ठूलो संख्यामा नयाँ संक्रमित भेटिइरहेका छन् ती देशमा भीड जम्मा हुन दिनु ‘खतरालाई निम्ता दिनु’ जस्तै भएको डब्लुएचओले जनाएको छ।

सम्बन्धित शिर्षकहरु