कर्फ्यूमै जलाइयो प्रहरी चौकी

aaglagiवीरगञ्ज, आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले कर्फ्यू उल्लंघन गरी वीरगन्जको राजीघाट प्रहरी चौकीमा आगजनी गरेका छन् । वरपरका घरमा समेत आगो लाग्ने खतरा भएपछि स्थानीयले चौकीका सामान बाहिर निकालेका जलाएका थिए ।

मोर्चाका कार्यकर्ताहरुले घण्टाघर लगायतका बिभिन्न स्थानमा प्रदर्शन गर्दै तोडफोड र आगजनी गरेका छन् ।घण्टाघरस्थित टेलिकम कार्यालयमा तोडफोड भएको छ । जिल्ला विकास समिति लगायतका सरकारी कार्यालयको सुरक्षामा खटिएका प्रहरीहरुलाई प्रदर्शनकारीले लखेटेका थिए । बीरगञ्ज नगर क्षेत्रमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

त्यसअघि सोमबार दिउँसो बाइपास रोडस्थित नगवा चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थानीय प्रशासनले अपरान्ह चार बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

झडपले स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाइ फायर गरेको थियो । प्रहरीले रबरको गोली समेत प्रहार गरेको छ ।रबरको गोली लागेर दुई बालक इरफान अन्सारी र मुन्ना यादवसहित ८ जना घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भैरहेको छ ।

यसैबीच बारा सदरमुकाम कलैयामा पनि मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन चर्काएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ ।

यसैबीच मधेसी मोर्चाका कार्यकर्ताहरूले सोमबार दिउँसो सप्तरीको राजविराजस्थत नापी कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । यसअघि राजविराजमा एक माइक्रोबसमा आगजनी भएको थियो ।

सम्बन्धित शिर्षकहरु