अब गरिने लकडाउन देशभर एकै पटक हुने छैन : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उच्च जोखिममा रहेका स्थानहरूमा पुनः लकडाउन गर्नुपर्ने अवस्था आएको भएपनि पहिला जसरी एकैसाथ देशभर लकडाउन नहुने जानकारी दिएका छन ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री ढकालले जात्रा, पर्व र धार्मिक कार्यक्रममा मानिसहरू भेला हुने र जनस्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना नगर्ने प्रवृत्ति बढ्दै गए ठूलो दुर्घटना हुन सक्नेतर्फ सचेत हुन सबैसँग आग्रह गरेका छन ।

छलफलमा मन्त्री ढकालले भारतमा कोरोना संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अपनाउनुपर्ने बताए ।

सरकारले कोरोना संक्रमितको संख्या घट्दै गएपछि जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउने निर्णय गरेको भए पनि सीमावर्ती भारतीय सहरमा संक्रमणको दर बढ्दै गएपछि नेपालमा पनि त्यसको प्रभाव परेको र पछिल्ला दिनमा संक्रमितको संख्या बढ्न थालेको बताए ।

उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि मन्त्रालयले गरेको सम्पूर्ण खरिद प्रक्रिया तथा खर्चहरू पारदर्शी रहेको दावी गरे ।

सम्बन्धित शिर्षकहरु