नियम र मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढ्यो :मन्त्री ढकाल

काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले लागू गरेका नियम र मापदण्डलाई सबै जनताले पालना नगरेको कारण कोरोना भाइरसको सङ्क्रमण बढ्ने अवस्था देखिएको बताएका छन ।
लकडाउन खुकुलो भएपछि मानिसहरुको आवत जावत बढेको र सङ्क्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाण्डाै आउँदा जोखिम बढेको उनले बताए ।

मन्त्री ढकालले काठमाण्डौमा फैलिएको कोरोनाकाे सङ्क्रमण रोक्न सरकार नयाँ रणनीति बनाएर अघि बढ्न लागेको जानकारी दिए ।

उनले बाहिरबाट आउने व्यक्तिको हकमा क्वारेण्टीनमा राख्ने खालको व्यवस्थापनमा सरकारले जोड दिने बताए ।

उनले अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर परीक्षणकाे निम्ति स्वाब सङ्कलन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तलसम्म जाने योजना सरकारले बनाएको जानकारी दिए । पहिलो चरणमा कुल जनसंख्याको दुई प्रतिशतको पीसीआर परीक्षण गर्ने सरकारको तयारी उनले बताए ।
मन्त्री ढकालले बाहिरी जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वरेण्टीनमा राख्ने, जोर–बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर परीक्षणकाे दायरालाई बढाएर जाने लगायतको काम थालिएको बताए ।
काठमाण्डाै उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले भन्दै सचेत रहन मन्त्री ढकालले आग्रह गरे ।

यस्तै सरकारले अहिले सरकारसँग दैनिक १८ हजार पीसीआर परीक्षण गर्ने क्षमता रहेको र कुल ६ लाख जनाको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित तयारी अवस्थामा रहेको उनले बताए ।

सम्बन्धित शिर्षकहरु