असार २८ । काठमाडौं । ‘एकता, संघर्ष र रूपान्तरण’का माध्यमबाट आफूहरू २६ वर्षदेखि एउटै कमिटीमा रहँदै आएको दाबी गर्ने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईको ‘वाकयुद्ध’ आइतबार कार्यकर्तामाझ पोखिएको छ।
तीन नेता एकताबद्ध रहेको सन्देश प्रवाह गराउने उद्देश्यले अनेरास्ववियु क्रान्तिकारीले आफ्ना कार्यकर्ता प्रशिक्षणका लागि बोलाएको कार्यक्रममा दाहाल र भट्टराईले एकले अर्कोलाई चस्का पस्ने गरी घोच्दै आफूलाई सर्व श्रेष्ठ ठहर्याउने प्रयास गरेका हुन्।
‘मोहनविक्रम सिंहले बुद्धिजीवीहरू अवसरवादी हुन्छन्, उनलाई विश्वास गर्नु हुन्न, जिल्ला कमिटीभन्दा माथि ल्याउनु हुन्न भन्थे। मोहनविक्रमको त्यो प्रस्तावलाई अस्वीकार गरेर मैले बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई एक ठाउँमा ल्याउने पहल गरेकै होु, ३६ वर्षको उमेरमा आफू पार्टीको महामन्त्री भएको स्मरण गराउँदै प्रचण्डले भने, ‘जति गाली गरे पनि माया लाग्छ। मेरै नेतृत्वमा जनयुद्ध सुरु गर्ने रणनीति र कार्यनीति बनेकै हो, अरूको होइन। जनयुद्ध सुरु गर्न लेखिएको दस्ताबेजलाई कोसेढुंगा साबित भनिएकै हो।
मेरै नेतृत्वमा जनयुद्ध गरेकै हो। अहिले ६२ वर्षको भए। बूढो हुँदै गएपछि काम नलाग्ने भयो भनेर फालिदिने ?’ प्रचण्डले आमालाई भीरबाट फाल्न डोकोमा बोकेर जाने छोराको कथा पनि सुनाए।
‘गड्याङगुडुङ गरिरहेका बेला आमाले मेरो छोरा घर नपुगुन्जेल पानी नपरोस् भन्थिन्’ प्रचण्डले भने, ‘अर्को नेताले ङ्याक्नै पर्ने। राम्रो गरेकोलाई राम्रो भने पो सम्मान हुन्छ।’
आफूले भट्टराईलाई उत्तराधिकारी बनाउन खोजे पनि आफूलाई भट्टराईले त्यो रूपमा व्यवहार नगरेको पनि प्रसंग दाहालले ल्याउन भ्याए। ‘चीनमा माओत्सेतुङले लिनप्याओलाई उत्तराधिकारी बनाउने खोज्थे। लिनप्याओ चाहिँ माओलाई सिध्याउन खोज्थे’ प्रचण्डले भने, ‘नेतृत्वलाई मार्न, नेतृत्वको छाला काढ्न खोजेर हुन्छ।’ माओवादी आन्दोलन आफ्नो मात्रै कारणले कमजोर नभएको दाबी गर्दै कमजोरीको जिम्मेवारी नेतृत्वको सोपानक्रमअनुसार नेताकार्यकर्ताले लिनुपर्ने पनि प्रचण्डले बताए ।
‘नयाँ पार्टी, नयाँ संगठन, नयाँ नेतृत्व प्रणाली विकास गर्नुपर्छ । विचार, कार्यदिशा र संगठनको नेतृत्वमा रूपान्तरण गर्न सकेनौं भने मरेको लास बोक्न त सक्छन् । महादेवले सतीदेवी बोक्न त सक्नुहुन्छ तर मात्रिका, वैद्य र विप्लव सतीदेवीको अंग झरेझै झर्दै जान्छन्।’
आफू र दाहाल २६ वर्षदेखि एउटै कमिटीमा रहेको उल्लेख गर्दै भट्टराईले भने, ‘प्रचण्ड, नारायणकाजी र मैले अँगालो हालेरमात्रै हुँदैन।’ ०६९ जेठ २ गतेको सहमतिबाट पछाडि हट्दा फ्रेन्च मोडलको कार्यकारी प्रणाली, १० प्रदेश आफूले चाहेजस्तो र एउटा प्रदेश झापा, सुनसरी, मोरङ गरेर ११ प्रदेशको संघीय संरचना प्राप्त हुन नसकेको भट्टराईले बताए।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने आफूलाई प्रशिक्षककै रूपमा सीमित राखेर संविधान निर्माणमा आएका अवरोध र आफ्नो पार्टीले निर्वाह गरेको भूमिकाबारेमा कार्यकर्ताहरूलाई प्रशिक्षित गरेर मन्तव्य टुंग्याएका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।








